वैकल्पिक लगानी आर्थिक विकासका लागि ‘गेम चेन्जर’ को रुपमा स्थापित हुनेछ: ध्रुव तिमिल्सिना

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१७ फागुन २०७९, बुधवार Mar 01, 2023 18:35:pm

-ध्रुव तिमिल्सिना , प्रमुख कार्यकारी अधिकृत, अवसर इक्वीटी लिमिटेड

धितोपत्र बोर्डको एक दशकको सेवापछि निजी क्षेत्र प्रवेश गरेका ध्रुव तिमिल्सिना पछिल्लो समयमा वैकल्पिक लगानीका माध्यमलाई स्थापित गर्न व्यस्त छन् । सामुहिक लगानी कोषको सुरुवातकर्ता तिमिल्सिना अहिले प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल मार्फत अर्थतन्त्रमा योगदान गर्ने योजना अनुसार अघि बढेको छन् ।

म्यूचुअल फण्ड आफैँमा एउटा बजारको रुपमा विकास भएपनि वैकल्पिक लगानीको माध्यमलाई पनि सोही अवस्थामा पुर्याउने योजना उनको छ । शैक्षिक रुपमा व्यवसायिक प्रसाशनमा स्नाकोत्तर गरेका तिमिल्सिना अहिले अवसर इक्वीटीको प्रमुख कार्यकारी अधिकृत हुन् । यसभन्दा अघि सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रहेका उनी मर्चैन्ट बैंकर एसोसिएसनको पूर्व अध्यक्ष पनि हुन् । पुँजी बजारलाई समग्र अर्थतन्त्रले प्रभाव पार्ने भएकाले औद्योगिक क्षेत्रको विकासका लागि वैकल्पिक लगानीका माध्यमहरुलाई स्थापित र व्यवस्थित गर्न जरुरी रहेको उनको बुझाई छ । यसले विदेशी लगानी मात्र नभई विदेशीएका दक्ष तथा योग्य नेपाली ब्रेनलाई स्वदेश फिर्ता गर्ने बताउने तिमिल्सिनासँग वैकल्पिक लगानीका माध्यम तथा अवसर इक्वीटीले बिक्री खुला गरेको कोषका बारेमा नोटबजारले गरेको कुराकारीः-

प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटललाई विशिष्टिकृत लगानी कोष भनिएको छ, यी कस्तो खालको कोष हो ?

प्राइभेट इक्वीटी पनि एक प्रकारको वैकल्पिक लगानीको माध्यम हो । उसले धितोपत्र बजारमा सूचीकृत नभएका क्षेत्र तथा कम्पनीहरुमा लगानी गर्छ । यसले जटिल प्रकृतिको लिभरेज बाइआउट देखि जोखिममा लगानी गर्ने भेञ्चर क्यापिटलको स्वरुप समेत लिने गर्छ । फण्डको लगानी उद्देश्य र यसले लगानी गर्ने कम्पनी वा व्यवसायको चरणलाइ हेरेर पनि यस्ता कोषहरुलाई स्टार्टअप वा सिड फण्ड, भेञ्चर क्यापिटल फण्ड, प्राइभेट इक्वीटी फण्ड भन्ने गरिएको छ ।

अझ कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्ने गरी सेक्टल फण्ड समेत स्थापना भएका हुन्छन् । जुनसुकै स्वरुपमा भए पनि यस्ता कोषहरुलाई वैकल्पिक लगानीको माध्यमको रुपमा बुझिन्छ जसले इक्वीटी फाइनान्सिङ मार्फत देशमा उद्योगधन्दाको विकास र विस्तारमा ठूलो मद्दत पुर्‍याउँछ ।

नेपालको सन्दर्भमा वैकल्पिक लगानीका माध्यमहरुको सञ्चालन अवस्था अवस्था कस्तो छ ?

नेपालको सन्दर्भमा वैकल्पिक लगानीका माध्यमहरुको सञ्चालनको विषयमा अझै पनि स्पष्ट हुन नसकेको देखिन्छ । नेपालमा नै यस्ता खालका कोष सञ्चालन गर्ने व्यवस्था भन्दा अघिदेखि नै विदेशी कोषहरु मार्फत उद्योगधन्दाहरुमा लगानी भएको देख्न सकिन्छ । त्यसरी सञ्चालन भएका विदेशी कोषको संख्या पनि सीमित छन् । तर, धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ ल्याएको छ । उक्त नियमावली अनुसार बोर्डले यस्ता कोष सञ्चालनका लागि कोष व्यवस्थापकको अनुमति पनि दिइसकेको अवस्था छ । नेपालमा स्थायी ठेगानामा अर्थात नेपालबाटै पनि यस्ता कोष स्थापना तथा सञ्चालन हुने प्रकृया सुरु भैसकेको छ ।

बोर्डबाट कोष व्यवस्थापकको काम गर्न धेरै संस्थाले अनुमति पाएको भएपनि कोष नै सञ्चालन भने भैसकेको अवस्था छैन । यसमा अवसर इक्वीटी पहिलो हो जसले कोष सञचालन अनुमति पाइ पुँजी संकलनको प्रक्रिया सकेत अघि बढाइ सकेको अवस्था छ । अन्तर्राष्ट्रियस्तरमा यस्ता कोषहरु सञ्चालन भएको लामो समय भैसकेको छ । तर, नेपालमा यो अवधारणा नयाँ हो ।

हालसम्म थुप्रै संस्थाहरुलाई कोष व्यवस्थापकको अनुमति दिईएको छ, तर कोष स्थापना भएर लगानी सुरु हुन नसक्नुको कारण के हो ?

नेपाली वित्तीय क्षेत्रमा यो नयाँ क्षेत्र भएकोले कोष व्यवस्थापकको हैसियतले कार्य गर्दा अन्तर्राष्ट्रियस्तरको सुशासन अभ्यास अवलम्वन गर्नुपर्ने हुन्छ । सञ्चालन गरिने कोषको मुख्य कागजातको रुपमा कोषको विधान र लगानी सम्झौता नै हुने भएकाले कोषको आकारलाई यस्ता कागजजातले उत्कृष्ट सुशासनलाई यकिन गरेको छ भैन भन्ने कुराको सुनिश्चित गर्नुपर्ने हुन्छ ।

कोष व्यवस्थापनका लागि आवश्यक दक्ष तथा अनुभवी जनशक्तिको अभाव छ । तर, यस्ता कोष सञ्चालन तथा व्यवस्थापनका लागि दक्ष तथा अनुभवी जनशक्ती हुनु अनिवार्य छ । यी सबै व्यवस्था गरेर अगाडि बढ्न पक्कै पनि ठूलो तयारी हुनुपर्छ । त्यसले गर्दा पनि दर्ता हुने कोषको संख्या न्यून रहेको हुन सक्छ । नियमावली आएपछि बोर्डमा दर्ता भएको र पुँजी नै संकलनको प्रक्रियामा रहेको पहिलो कोष अवसर इक्वीटीको ‘अवसर इक्वीटी डाइभर्सिफाईड फण्ड’ हो । यो नेपालमा दर्ता भएको पहिलो प्राइभेट इक्वीटी फण्ड हो ।

यो काषको सञ्चालनको सुशासन प्रणालीले यो क्षेत्रमा आधार स्तम्भ स्थापित गर्ने भएकाले पनि तुलनात्मक रुपमा धेरै मेहेनत गरेर अघि बढेका छौं । कोष सञ्चालनको तयारी कै क्रममा कोषको संरचना तयार गर्दा विदेशी विज्ञको समेत सहयोग समेत लिएका छौं । साथै अन्य मुलुकमा रहेर यसै क्षेत्रमा काम गरेको अनुभवी कर्मचारीलाई समेत टीममा समावेश गरेका छौं ।

तपाईहरुले बोर्डमा दर्ता गराएको कोषको आकार तथा लगानी योजना के कस्तो रहेको छ ?

बोर्डमा दर्ता भएर पुँजी संकलनको प्रक्रिया समेत सुरु भैसकेको अवसर इक्वीटी डाइभर्सिफाईड फण्ड’ को आकार ५ अर्ब रुपैयाँको रहेको छ । निष्कासन भैरहेको यो कोष आगामी चैतको मध्यतिर बन्द हुन्छ । त्यसका लािग हामीले प्राइभेट प्लेसमेन्ट मार्फत पुँजी संकलन गर्ने भएकाले सोही अनुसार काम अघि बढाई रहेको अवस्था छ ।

यो कोष डाइभर्सिफाईड नेचरको छ । यसले अर्थतन्त्रका विविध क्षेत्रमा लगानी गर्दछ । कोषको अवधि १० वर्षको हुनेछ । यो एक बन्दमुखी कोष हो । पहिलो कोष भएकोले पनि समग्र अर्थतन्त्रमा उपलब्ध हुने उयुक्त अवसरहरु यसले पाउने अपेक्षा अनुसार विविधि प्रकृतिको कोष ल्याएका हौं । आगामी दिनमा हामी कुनै निश्चित क्षेत्रको विकासमा लक्षित रहेर समेत कोष सञ्चालनमा ल्याउने योजना पनि गरेका छौं ।

करिब एक दशकको अवधि भएको उक्त कोषको लगानीका क्षेत्रहरुको विषयमा समेत योजना बनाउनु भएको होला नी ?

सुरुवाति अवस्थामा कोषको लगानी रियल सेक्टरमा गर्ने योजना गरेका छौं । ति क्षेत्रका उद्योगधन्दाहरुमा सुशासन अभ्यास कायम गराउने, त्यस्ता उद्योगको व्यवसाय विस्तार गर्ने र पुँजी बजारमा सुचीकरण गराउनेतर्फ बढी केन्द्रीत छौं । पुँजी बजारमा वास्तविक क्षेत्रको सहभागिता नभई नेपालको वित्तीय क्षेत्रको सन्तुलित विकास हुन सक्दैन । त्यसका साथै साना तथा मझौला उद्योग, नवप्रवर्तन लगायतमा समेत कोषले लगानी गर्नेछ । कोष मार्फत लगानी गर्दा सामाजिक अवस्थामा पार्न सक्ने प्रभावलाई समेत मध्येनजर गर्दै वातावरण तथा समाजिक सुसासनको पालनालाइ पनि प्राथमिकता दिनेछौं । योे लगानी नीति मार्फत कार्यान्वयन हुनेछ ।

कोषको निष्कासन सुरु त भैसकेको अवस्था छ, कोषमा लगानी गर्न चाहने व्यक्ति वा संस्थाको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

नयाँ विषय भएकाले लगानी गर्न इच्छुक व्यक्ति वा संस्थालाई सबैभन्दा पहिले बुझाउने प्रयास गरिसकेका छौं । जनचेतना न्यून भएपनि यस सन्दर्भमा सोधपुछ र लगानी गर्ने तत्परता सोचे भन्दा धेरै सकारात्मक छ ।

फागुन मध्यतिर परिपत्र विधि मार्फत बिक्री खुला भएको कोषको आकार अनुसारको प्रतिबद्धता समेत आइसकेको अवस्था छ । अधिकांश लगानी प्रतिबद्धता आईसकेकोले समेत तोकिएको समयभित्र कोषको रकम संकलन गरिसक्ने हाम्रो विश्वास छ ।

विशिष्टिकृत लगानी कोष नियमावलीको प्रावधान अनुरुप यस्ता कोषको सार्वजनिक निष्काशन गर्न पाईँदैन र यस्ता कोषमा बढीमा २०० जनाले मात्र सहभागिता जनाउन पाउँछन् । कुनै एक व्यक्ति वा संस्थाले न्यूनतम ५० लाख रुपैयाँभन्दा कम लगानी गर्न पाउँदैन । तसर्थ यस्ता कोषहरु सर्वसाधारणका लागि नभई विषेश खालका अर्थात जोखिमको पक्षलाई समेत राम्रोसँग बुझ्छ ।

लगानीकर्तालाई यस कोषमा लगानी गर्दा के फाइदा हुन्छ ?

अवसर इक्वीटी लिमिटेडका संस्थापकहरुमा नेपाल बैंक, सानिमा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंक रहेका छन् । यी बैंकहरु बाहेक नेपालको उद्योग व्यवसाय क्षेत्रमा स्थापित व्यक्तित्वहरु केहीको नाम लिनुपर्दा शेखर गोल्छा, शशिकान्त अग्रवाल, अमिर प्रताप राणा, राज बहादुर शाह, मनोज केडिया, मिन बहादुर गुरुङ्ग, क्याबिनेट श्रेष्ठ, सुधिर मित्तल लगायतका अन्य प्रतिष्ठित र वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्वहरु हुनुहुन्छ ।

साथै वित्तीय क्षेत्रका प्रोफेशनलहरु शशिन जोशी, सुरेन्द्र भण्डारी, अनिल ज्ञावाली जस्ता व्यक्तिहरु समेत यसका संस्थापकहरुमा हुनुहुन्छ । संस्थापकको रुपमा सहभागित व्यक्ति तथा संस्थाका कारणले पनि लगानीकर्ताको विश्वास बलियो छ । आजको यस्तो अवस्थामा समेत कोष संकलन गर्न कठिनाई नहुनुको पछाडिको एउटा कारण यो पनि हो ।

हामीलाई विश्वास छ, हामिले कोषको सुशासनका लागि तयार गरेको संरचना तथा लगानीका नीतिगत व्यवस्था, कम्पनीका संस्थापकहरुको प्रतिष्ठा, कोष व्यवस्थापक संस्थामा कार्यरत कर्मचारीहरुको दक्षता, कोषले लगानी गर्ने लक्षित क्षेत्र, हाल उपलब्ध लगानी अवसरलाई हेरेर लगानी गर्ने भएकाले निराश हुनुपर्ने अवस्था छैन । फाइदाको सन्दर्भमा कुरा गर्दा जोखिम व्यवस्थापन गरेर प्रतिफल लिने हो । सोही आधारमा लगानीकर्तालाई प्रतिफल दिने हो ।

तपाइँले ल्याउने कोषमा विदेशी लगानी पनि सम्भव छ ?

हालको कानुनी व्यवस्थाले नेपालमा स्थापना भएका कोषहरुमा विदेशी लगानी आउन सक्दैन । त्यसैले यो कोषका लागि हामीले देशभित्रबाटै नै रकम संकलन गरेर कोष सञ्चालन गर्न गर्छौ । विस्तारै यस्ता कोष सञ्ंचालनको अनुभवबाट यस क्षेत्रका प्रोफेसनल प्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास बढ्दै जानेछ । आगामी पाँच वर्ष भित्रमा नेपालमा प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल क्षेत्रले निकै ठूलो फड्को मारिसक्नेछ ।

नेपाल सरकारले धितोपत्र बोर्डको समेत सुझावमा यस क्षेत्रको द्रुत विकासका लागि आजैदेखि अन्य आवश्यक नीतिगत व्यवस्था गर्ने, विद्यमान नीतिगत व्यवस्थामा आवश्यकता अनुसार सुधार गर्दैजाने कार्यहरु सुरु गर्नपर्छ । हामीले छिमेकी मुलुक भारतको उदाहरण लिने हो भने भारतमा आउने कुल वैदेशिक लगानीको करिब ६५ प्रतिशत हिस्सा यहि क्षेत्र मार्फत आएको छ र जुन बढ्दो छ । वैदेशिक लगानीलाई व्यवस्थित गरी नेपालको आर्थिक विकासका लागि यो क्षेत्रले गेम चेन्जरको भुमिका निर्वाह गर्नेमा स्पष्ट छ ।

नियमावली जारी भएपछि पनि कोष व्यवस्थापकको अनुमति तथा कोष दर्ता गर्न लामो समय लाग्यो । सुरुवात हुनकै लागि यतिका समय लागेको यस क्षेत्रको विकास द्रुत हुन्छ भन्ने लाग्छ ?

कुनै पनि नयाँ कुराको सुरुवात गर्दा दुविधा हुनु स्वभाविक हो । यो क्षेत्रले अपेक्षित विकास गर्ला नगर्ला शंका उब्जन्छ । नेपालमा म्युचुअल फण्ड सुरु गर्दा हामीले धेरै अन्योलको अवस्था पार गरेर आज करिव ४० देखि ५० अर्बको सम्पत्ति व्यवस्थापन गरेको अवस्था छ । पछिल्लो समयमा हाम्रो देशबाट ‘ब्रेन ड्रेन’ भएको जनशक्ति यसै क्षेत्रमा अवसर प्राप्त भएपछि फर्किएको छ । अझ सम्बन्धित निकायले समयमा नीतिगत सम्बोधन गरिदिएको भए यसको विकास अझ छिटो हुन्थ्यो ।

मलाई विश्वास छ अब विशिष्टिकृत लगानी कोष सञ्चालनका लागि भएका नीतिगत दुविधाहरुमा सरकार तथा सम्बन्धित निकायले समयमै सम्बोधन गरिदिने छ । आगामी दिनमा यो क्षेत्र पुँजी परिचालन महत्वपूर्ण क्षेत्रको रुपमा विकास हुनेछ । वैकल्पिक लगानीको माध्यमबाट व्यवस्थित र सन्तुलित आर्थिक विकासका लागि विदेशी पुँजी समेतको परिचालन हुनेछ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments