नेप्सेमा सामान्य अङ्कको सुधार
यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर १९५३ दशमलव ०६ अङ्कमा कायम भएको छ ।
आज दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर २६ हजार ४७३ पटक खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ ।
आज बैंङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह ३.९५, उत्पादन तथा व्यापार समूह २३.३८, लघुवित्त समूह १४.४५, म्युचुअल फन्ड ०.०३ र व्यापार समूह ५०.३७ अङ्कले घटेको नेप्सेले जनाएको छ ।
आज जीवन बीमा समूहको उपसूचक ४६.६१ अङ्कले बढेको छ भने विकास बैंक समूह १२.८८ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूह १९.९५, जलविद्युत् समूह १८.९५, लगानी समूह ०.४४, जीवन बीमा समूह ६.८८ र अन्य समूह ६.२१ अङ्कले बढेको छ ।
आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको सेयर मूल्य प्रतिकित्ता ५.६४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र सेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १० करोड ४८ लाख २४ हजार १२५ बराबरको १ लाख ३६ हजार सात सय ३३ कित्ता सेयर किनबेच भएको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।