अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने कल्पना बाहिरको कुरा हो : उपाध्यक्ष श्रेष्ठ

नोटबजार संवाददाता
काठमाण्डौं ।
६चैत्र, २०७९, सोमबार / Mar 20, 2023 10:49:am

देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा सरोकारबालाहरुले जोड दिएका छन ।

आईतवार पोखरामा आयोजित लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरकार र नीति निर्माताहरुले तत्काल ध्यान दिनुपर्ने बताएका हुन्।

नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्न समेत कठिन भएको बताए। उनले बजार सुनसान भएको, उद्योगको उत्पादन घटेको रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नभएको बताए।

‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं। अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो,‘ उपाध्यक्ष श्रेष्ठले भने।
उनले अर्थतन्त्र धरासायी भएको र बजार पिडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने माग गरे। यो समस्या कसले निराकरण गर्ने भनेर व्यवसायीहरु चिन्तित भएको उनले स्पष्ट पारे।

‘बेस रेट तोकिसकेपछि फेरी बैंकहरुले प्रिमियम ब्याज तोकेर थप किन लिने? ब्याजदर १० प्रतिशत भन्दा धेरै गर्न हुँदैन र साना तथा मझौला व्यवसायीहरुका लागि अझ ब्याज घटाउनुपर्दछ,‘ उनले जोड दिए।

श्रेष्ठले उद्योगी व्यवसायीहरुको हरेक समस्यासँग जुधेर आफू अगाडि बढिरहेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका थिए। उनले आगामी दिन युवाहरुकै भएको भन्दै उद्योगी व्यवसायीहरुलाई मार्गदर्शन गर्न अनुरोध गरेका थिए। श्रेष्ठले उद्योग व्यवसाय गर्ने र लगानी मैत्री वातावरणका लागि सँधै अग्रसर रहने स्पष्ट पारेका थिए।

यस्तै उद्योगी किशोर श्रेष्ठले अहिले उद्यमीहरुको मन रोएको र कसरी उद्योग व्यवसाय चलाउने भनेर रुने अवस्थामा भएको बताए। उनले व्यवसायीहरुलाई आगामी २ वर्षसम्म बैंक ऋण र ब्याज तिर्न सहजता र सहुलियत दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टि नेपालका सांसद मनिष झाले देश तदर्थवादमा अल्झिएको हुँदा समस्या आएको बताए। उनले आफ्नो पार्टि सरकारमा हुँदा र आाफू स्वयं उद्यम क्षेत्रमा रहेको अनुभवले पनि अझ संकटतर्फ उन्मुख भएको बताए।

‘हामीकहाँ विश्लेषक धेरै तर विज्ञ कम भए र राजनीतिमा पनि त्यस्तै भएकोछ। हामीले तदर्थवादलाई नहटाएसम्म समस्या घट्दैन्। हामीसँग योजनाहरु धेरैछन तर रणनीतिहरु केहि छैन्,‘ सांसद झाले भने।

उनले देशमा सँधै राजनीतिक योजनाहरु बन्ने गरेको तर अर्थतन्त्रका लागि कुनै योजनाहरु नबनेकोमा रोष प्रकट गरे।

त्यस्तैगरी कार्यक्रममा पोखरा अनुसन्धान केन्द्रका सुजन रेग्मीले पूँजीगत खर्च नबढाएसम्म अर्थतन्त्र सुधार नहुने बताए। उनले पूँजीगत खर्च बढाउँदै सरकारले अर्थतन्त्र वृद्धि गर्न सुधारका कदम चाल्नुपर्ने बताए।

उनले कार्यक्रममा भने, ‘गण्डकी प्रदेशमा कृषि र पर्यटनको ठूलो संभावना छ। कृषिलाई पर्यटनसँग जोडेर अभियान चलाउन सकिएमा प्रदेशको आर्थिक वृद्धिमा सकारात्मक सुधार हुनेछ।‘ रेग्मीले यसबाहेक प्रदेशमा जलविद्युत र पूर्वाधारमा समेत संभावना भएको भन्दै यसको लागि नीतिगत स्थीरता आवश्यक हुनेमा जोड दिए।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले अहिलेको अवस्थामा व्यापार व्यवसाय गर्न कठिन भएको भन्दै त्यसमा सरकारले हेर्नुपर्ने सुझाब दिएका थिए। व्यवसायीहरुले अहिले बजारमा नगद अभाव हुँदा भएको वस्तु तथा सेवा समेत खपत नभएको भन्दै बजारमा सहजरुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक भएको बताएका थिए।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments