मन्त्रिपरिषद् विस्तारको सरगर्मीले सेयर बजार दोहोरो अंक बढ्यो, लघुवित्तमा आकर्षण

नोटबजार संवाददाता ।
काठमाडौं ।
१४चैत्र, २०७९, मंगलवार / Mar 28, 2023 16:31:pm

सत्ता गठबन्धन परिवर्तनले विस्तार हुन नसकेको मन्त्रिमण्डल विस्तार हुने भएसँगै मंगलबार सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । मंगलबार नेप्से १२.४१ अंक बढेर १९१८.४१ अंकमा पुगेको हो ।

सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायत दलहरुले पाउने मन्त्रालयहरुको टुङ्गो अन्तिम चरणमा पुगेसँगै सेयर लगानीकर्ताको बनोबल बढेको हो । सरकारले पूर्णता पाउँदा सेयर बजारको मन्त्रालय अर्थ नेपाली कांग्रसको भागमा परेको छ भने डा. प्रकाशशरण महत नयाँ अर्थमन्त्री बन्ने पक्कापक्की भएको छ । यसले पनि सेयर बजारमा लगानीकर्ताहरुको माहोल तातेको छ । राष्ट्र बैंकको लाभांश कडाइले ४० प्रतिशतसम्म सेयरमूल्य घटेको लघुवित्तमा लगानीकर्ताले सो क्षेत्रमा लगानी बढाएका छन् ।

दिउँसो १ः२० बजे नेप्से ३०.४८ अंकले बढेर १९३६.४८ अंकसम्म पुगेको बजारमा त्यसपछि बिक्री चाप बढेपछि बजार घटेर बन्द भएको हो । हिजो सोमबार पनि नेप्से १७.७० अंकले बढेको थियो ।  मंगलबार कुल १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा कुल २५८ कम्पनीहरुको सेयर कारोबारमा आएकोमा १६४ कम्पनीको मूल्य बढ्दा ८१ कम्पनीको घटेको छ भने १३ कम्पनीको स्थिर रह्यो । सोमबार १ अर्ब ३८ करोडको कारोबार भएकोमा कारोबार ६ करोडले बढेको हो ।

राष्ट्र बैंकले लाभांश वितरणमा गरेको कडाई ४० प्रतिशतसम्म सेयरमूल्य घटेपछि आजको बजारमा लघुवित्त इन्डेक्स सर्वाधिक बढेको छ । मंगलबार लघुवित्त इन्डेक्स ३.४८ प्रतिशतले बढ्दा म्युचुअल फन्ड २.५५, उत्पादन १.८६, व्यापार १.०७ प्रतिशतले बढेको छ । यस्तै लगानी ०.९७, अन्य ०.५३ होटल तथा पर्यटनमुलक ०.४४, बैंकिङ ०.३१, जीवन बीमा ०.३१ र जलविद्युत् ०.२५ प्रतिशतले बढेका छन् । विकास बैंक ०.३१, फाइनान्स ०.३३ र निर्जीवन बीमा उपसमूह ०.१२ प्रतिशतले घटेको छ ।

यस्तै सुपर माई हाइड्रोपावर, श्रृजनशील लघुवित्त र एशियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । मूल्य बढेसँगै सुपर माई हाइड्रोपावरको प्रतिकित्ता ४७३.१० रुपैयाँ, श्रृजनशील लघुवित्तको १३१३.३० रुपैयाँ र एशियन हाइड्रोपावरको मूल्य ४७३.२० रुपैयाँ पुगेको छ । यस्तै महिला लघुवित्तको ८.९२, नेरुडे लघुवित्त ७.९७, किसान ७.६२, युनिक नेपाल लघुवित्त ७.०८, स्वाबलम्बन ७.०३, जीवन विकास ६.४५ र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ५.८६ प्रतिशतले बढेको छ ।

आजको बजारबाट तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ३.१७ प्रतिशत घटेर ४२५.१० रुपैयाँमा झरेको छ । यस्तै मितेरी डेभलपमेन्ट बैंक २.१५, बेष्ट फाइनान्स २.१०, लक्ष्मी बैंक डिबेञ्चर २०८८ को मूल्य २.०६ प्रतिशत र बाराही हाइड्रोपावरको १.९५ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ६ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ९७ लाख, शिवम् सिमेन्टसको ४ करोड ९२ लाख, एनआईसी एशिया बैंकको ४ करोड ३६ लाख र अपि पावरको ३ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments