जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय खस्कियो, अघिल्लो फागुनभन्दा २८% बढीले घट्यो

0
Shares

जीवन बीमा कम्पनीहरुको नयाँ बीमा व्यवसाय खस्किएको छ । चालु आवको फागुनमा सबै जीवन बीमा कम्पनीहरुको व्यवसाय अघिल्लो फागुनको तुलनामा घट्दा औसतमा प्रथम बीमाशुल्क २८.३८ प्रतिशतले घटेको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिना अर्थात फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुले कुल १८ अर्ब ५५ करोड १६ लाख ५४ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । यो रकम कुल बीमाशुल्क संकलन (९३ अर्ब ७५ लाख ३७ लाख ७९ हजार रुपैयाँ) को १९.७९ प्रतिशत हो ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिना अवधिमा नवीकरण बीमाशुल्क ७५ अर्ब २० लाख २१ लाख २५ हजार र १८ अर्ब ५५ करोड १६ लाख ५४ हजार रुपैयाँ प्रथम बीमाशुल्क गरी कुल ९३ अर्ब ७५ करोड ३७ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवको सोही अवधिको तुलनामा समीक्षा अवधिमा कुल बीमाशुल्क संकलन रकम १.६८ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको फागुन (२०७८ साउनदेखि फागुनसम्म) मा २५ अर्ब ९० करोड २९ लाख ४३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क रकम ७ अर्ब ३५ करोड १२ लाख ८९ हजार अर्थात २८.३८ प्रतिशतले घटेको हो ।

कसले कति संकलन गरे प्रथम बीमाशुल्क ?

१. नेपाल लाइफ इन्स्योरेन्सः ३ अर्ब ४७ करोड ३५ लाख १६ हजार रुपैयाँ
२. नेशनल लाइफ इन्स्योरेन्सः २ अर्ब ३१ करोड ९ लाख ५२ हजार रुपैयाँ
३. सूर्यज्योति लाइफः १ अर्ब ६७ करोड १४ लाख ९० हजार रुपैयाँ
४. लाइफ नेपाल कर्पोरेशन (नेपाल) लिमिटेडः १ अर्ब ४५ करोड ३८ लाख २२ हजार रुपैयाँ
५. सन् नेपाल लाइफः १ अर्ब २० करोड २९ लाख ३० हजार रुपैयाँ
६. सिटिजन लाइफः १ अर्ब १५ करोड ८७ लाख ६७ हजार रुपैयाँ
७. एशियन लाइफः ९२ करोड ४१ लाख २९ हजार रुपैयाँ
८. रिलायबल नेपाल लाइफः ९२ करोड ६ लाख ७४ हजार रुपैयाँ
९.युनियन लाइफः ८३ करोड ३३ लाख ८७ हजार रुपैयाँ
१०. आइएमई लाइफः ८२ करोड ७५ लाख ६८ हजार रुपैयाँ
११. मेट लाइफः ८० करोड ४९ लाख ३२ हजार रुपैयाँ
१२. रिलायन्स लाइफः ५९ करोड ४८ लाख ९४ हजार रुपैयाँ
१३. प्राइम लाइफः ५१ करोड ८४ लाख १२ हजार रुपैयाँ
१४. सानिमा लाइफः ५० करोड ७२ लाख ५७ हजार रुपैयाँ
१५. राष्ट्रिय बीमा संस्थानः ४२ करोड ७० लाख ८१ हजार रुपैयाँ
१६. प्रभु लाइफः ४१ करोड १७ लाख ४१ हजार रुपैयाँ
१७. महालक्ष्मी लाइफः २८ करोड ८७ लाख ९२ हजार रुपैयाँ
१८. गुराँस लाइफः २२ करोड १३ लाख १० हजार रुपैयाँ

 

कसको कति घट्यो ?

सञ्चालनमा रहेका सबै १८ वटै जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क रकम समीक्षा अवधिमा घटेको छ । अघिल्लो फागुनको तुलनामा गुराँस लाइफको सबैभन्दा धेरै ५१.२७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम आइएमई लाइफ इन्स्योरेन्सको ६.३२ प्रतिशतले घटेको छ ।

यस्तै दोस्रो ठूलो घटेको युनियन लाइफको प्रथम बीमा शुल्क ४७.७४, रिलायबल नेपाल लाइफको ४५.४८, प्रभु लाइफको ४०.८९ र प्राइम लाइफ इन्स्योरेन्सको ३९.८४ प्रतिशतले प्रथम बीमाशुल्क घटेको छ ।

महालक्ष्मी लाइफको प्रथम बीमाशुल्क ३९.५५ प्रतिशत, राष्ट्रिय बीमा संस्थान ३९.५०, सिटिजन्स लाइफ इन्स्योरेन्स ३७.२३, सानिमा लाइफ ३१.४७, एशियन लाइफ २८.५७, सुर्यज्योति लाइफको २८.१५, सन नेपाल लाइफको २७.८६, नेपाल लाइफ २०.७९, रिलायन्स लाइफ २०.३५, मेट लाइफ २०.०४, नेशनल लाइफ १८.४६ र एलआईसी नेपालको प्रथम बीमाशुल्क अघिल्लो फागुनको तुलनामा १४.१५ प्रतिशतले घटेको छ ।

प्रथम बीमाशुल्क के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् भने थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नबिकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नवीकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक–फरक हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत २०७९, बिहीबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।