नेप्सेमा सूचीकृत विभिन्न ८ कम्पनीले करिब १७ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याउने भएका छन् ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चैत ८ गतेसम्म ८ कम्पनीले कुल १६ अर्ब ९४ करोड ४६ लाख २५ हजार २७२ रुपैयाँ बराबरको १६ करोड ९४ लाख ४६ हजार २५२ दशमलव ७२ कित्ता हकप्रद बिक्री गर्न माग गर्दै विभिन्न मितिमा आवेदन दिएका हुन् । जसमा २०७८ कार्तिक २८ गते सबैभन्दा पहिले मागेको अरुण काबेली पावर देखि सबैभन्दा पछि २०७९ चैत ६ गते बिक्री अनुमति मागेको अपि पावर लिमिटेडसम्मको सूची समावेश छ ।
सेबोनमा हकप्रद बिक्री अनुमति माग्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । हकप्रद निष्कासनको अनुमति मागेका आठमध्ये ६ वटा त जलविद्युत कम्पनी मात्रै छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद बिक्रीमा रोक लगाएको अवस्था छ भने बीमा कम्पनीहरुलाई पनि नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जोड दिएको छ । यसले हकप्रद बेच्न अनुमति माग्ने सूचीमा सबैजसो जलविद्युत कम्पनी देखिएका हुन् । जलविद्युत कम्पनीहरुले भने नयाँ आयोजन बनाउन तथा आयोजनको ऋण भुक्तानी प्रयोजनका लागि समेत हकप्रद बिक्री गर्न पाउने व्यवस्था छ ।
हकप्रद जारी गर्न अनुमति माग गर्नेमा राष्ट्रिय गौरवको आयोजना समेत रहेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सबैभन्दा धेरै जारी गर्ने भएको छ ।
कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत सेयर अर्थात १ बराबर १ कित्ता सेयर अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख किता हकप्रद सेयर निष्काशनको लागि अनुमति माग गरेको छ । कम्पनीले २०७९ फागुन १८ गते सेबोनसँग हकप्रद बिक्रीको अनुमति माग गरेको हो ।
यस्तै अरुण काबेली लिमिटेडले पनि चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ अर्ब ८५ करोड ५२ हजार १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ किता सेयर निष्कासनका लागि अनुमती माग गरेको हो । कम्पनीले २०७८ कार्तिक २८ गते नै हकप्रद बेच्न सेबोनसँग अनुमति मागेको थियो ।
यसैगरी अर्को जलविद्युत कम्पनी अपि पावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ४० प्रतिशत अर्थात १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । हकप्रद निष्कासन गर्न माग गर्दै कम्पनीले यहि चैत ६ गते बोर्डमा आवेदन दिएको थियो । यस्तै हिमाल दोलखा हाइड्रोपावरले पनि आफ्ना सेयरधनीहरुबाट हकप्रद बेचेर चुक्ता पुँजीको ७५ प्रतिशत रकम संकलन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि २०७९ पुस २६ गते अनुमति मागेको हो । हाइड्रोपावरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद जारी गर्नेछ ।
यता नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पनि सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको छ । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ बराबारको ८२ लाख २१ हजार ४५९ दशमलव ७१ कित्ता सेयर निष्काशन गर्न लागेको हो । हकप्रद बेच्न कम्पनीले २०७९ कार्तिक २२ गते अनुमति मागेको छ । यस्तै सिनर्जी पावर डेभलपमेन्टले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बेच्न पुँजी बजारको नियामक निकाय सेबोनसँग २०७९ फागुन ५ गते अनुमति माग गरेको छ । कम्पनीले कुल ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता सेयर निष्कासन गर्न अनुमति माग गरेको छ ।
यस्तै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्न २०७९ भदौ ९ गते अनुमति मागेको छ । कम्पनीले कुल २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद बिक्री अनुमति मागेको हो । सबैभन्दा कम हकप्रद बिक्री अनुमति माग्ने कम्पनी मल्टिपर्पेज फाइनान्स रहेको छ । यस फाइनान्स कम्पनीले चुक्ता पूँजीको ३५ प्रतिशत १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता सेयर जारी गर्न अनुमति माग गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया