सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँड, कतिले हात पारे ?

0
Shares

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज चैत १७ गते शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीमा सेयर बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको बाँडफाँडमा भाग्यमानी ३ लाख ५८ हजार १७६ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट सेयर पाउने भाग्यशाली आवेदन छनौट गरिएको हो ।

कम्पनीको आईपीओ खरिदका लागि कुल १४ लाख ४४ हजार ९७८ जना सर्वसाधारण नागरिकहरुले आवेदन दिएका थिए । कुल आवेदको ७५.२१ प्रतिशत अर्थात १० लाख ८६ हजार ८०२ जनाको हात खाली भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल आवेदनमध्ये विभिन्न कारणले रितपुर्वक नपरेको ५१ हजार ८२५ वटा आवेदन रद्द गरिएको छ । कुल आवेदनमध्ये १३ लाख ९३ हजार १५३ वटा आवेदन मार्फत माग भएको १ करोड ५१ हजार ८७ हजार ९९० कित्ता सदर भएको थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँकोको कुल ४९ प्रतिशत अर्थात ५८ करोड ८८ लाख कित्ता सेयर सार्वजनिक निष्कासमा ल्याएको हो । जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता इलामका स्थानीय बासिन्दाका लागि र जारी पुँजीको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो ।

सर्वसाधारणमा जारी सेयरमध्ये १० प्रतिशत अर्थात ४ करोड ३६ लाख ८० हजार रुपैयाँ बराबरको ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात २ करोड १८ लाख ४० हजार रुपैयाँ बराबरको २ लाख १८ हजार ४०० कित्ता सामुहिक लगानी कोषहरुका लागि तथा ३ प्रतिशत अर्थात १ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो । यसरी बाँकी रहेको ३५ करोड ८१ लाख ७६ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ७६० कित्ता सेयर चैत ८ देखि १२ गतेसम्म आम सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको थियो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत ‘इक्रा एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको बारेमा

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नम्बर २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

९।६ मेगावाट क्षमतायुक्त सुपरमाई ए जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँका आधारमा कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ । आयोजनाले ३२ जेठ २०७७ देखि जलविद्युत उत्पादन सुरु गरिसकेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.०४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.४० वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति ३० वर्ष ७ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत २०७९, शुक्रबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।