शुक्रबार नवनियुक्त ११ जना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आज नेपाली कांग्रेसबाट ४ जना, एकीकृत समाजवादीबाट २ जना, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १।१ जना मन्त्रीले सपथ लिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहित ७ वटा पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । जनमत पार्टीका अब्दुल खानले सहमति अनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नपाएपछि आजै खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन् ।
माओवादीबाट यसअघि नै उपप्राधानमन्त्री नाराणकाजी श्रेष्ठ सहित रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री रहेका छन् । शुक्रबारको मन्त्रिमण्डल विस्तारमा नाराणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन् । यसअघि उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए ।
शुक्रबार भएको विस्तारमा नेपाली कांग्रेसबाट ४ जना मन्त्री बनेका छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री नबेका छन् । यसैगरी एकीकृत समाजवादीबाट वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेपाल समाजवादी पार्टीका अध्ययक्ष महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, सुदन किराँतीले संस्कृति पर्यटन तथा नागरिक उड्डयान र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि देखि नै कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंङ्ख्या गरी पाँच मन्त्रालयको कार्यभार सम्हालदै आएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया