हराएका ३६० मोटरसाइकल हस्तान्तरण

0
Shares

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा हराएका तीन सय ६० मोेटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका ३६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

आज मात्र २२ सवारी साधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । कार्यालयले आज १६ मोटरसाइकल र ६ स्कुटर हस्तान्तरण गरेको हो ।

चालू आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर एक हजार दुई सय ८९ निवेदन परेकामा तीन सय ८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । सो मध्ये दुईपाङ्ग्रे तीन सय ६० र अन्य २७ सवारीसाधन छन् ।

ट्राफिक प्रहरीले चालू आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताए ।

लाखौं रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत २०७९, शुक्रबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।