सगरमाथा र मोलुङ्गको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि दोस्रो बजारमा कारोबार खुल्ने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत २९ गते बुधबार सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेड गरी दुई कम्पनीको सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सगरमाथा जलविद्युत कम्पनीको संस्थापक र साधारण गरी कुल १ करोड १२ लाख कित्ता सेयर तथा मोलुङ्ग हाइड्रोपावर कम्पनीको कुल ८० लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

सगरमाथा जलविद्युतको सेयर कारोबारका लागि नेप्सेले एसएमजेसी (SMJC) कारोबार संकेत र मोलुङ्गको लागि एमएचसिएल (MHCL) कारोबार संकेत दिएको छ । सगरमाथा जलविद्युतको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम १११ रुपैयाँ ४१ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको छ । यस्तै मोलुङ्ग हाइड्रोपावरको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ६० रुपैयाँ ६२ पैसा देखि अधितकम १८१ रुपैयाँ ८६ पैसासम्म ओपनिङ्ग रेञ्ज दिएको छ । दुबै कम्पनीको पहिलो कारोबार तोकिएको कारोबार रेञ्जभित्र रहेर बिहीबार धितोपत्रको दोस्रो बजारमा खुल्नेछ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनीको प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा वितरण गरिएको १० प्रतिशत अर्थात ११ लाख २० हजार कित्ता, सर्वसाधारण सेयरधनीहरूमा वितरण गरिएको (सामूहिक लगानी कोष, कम्पनीको कर्मचारी र वैदेशिक रोजगारीमा रहेको नेपाली समेत) ३९ प्रतिशत अर्थात ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ५१ प्रतिशत अर्थात ५७ लाख १२ हजार कित्ता गरी १ करोड १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सगरमाथा जलविद्युत कम्पनीको इलाममा ९.६० मेगावाटको सपरमाई ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा छ ।

यसैगरी मोलुङ्ग हाइड्रोको स्थानीय बासिन्दाहरूमा वितरण गरिएको १० प्रतिशत अर्थात ८ लाख २ हजार ५०० कित्ता, सर्वसाधारण लगानीकर्ताहरूमा वितरण गरिएको (कर्मचारी समेत) ३४ प्रतिशत अर्थात २७ लाख २८ हजार ५ सय कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता समेत गरी जम्मा ८० लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको हो । मोलुङ्ग हाइड्रोपावरले ओखलढुंगामा ७ मेगावाटको मोलुङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाले २०६४ चैत १२ गतेदेखि व्यवसाययिक रुपमा विद्युत उत्पादन गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत २०७९, बुधबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।