यहि बैशाख १० गते आइतबार हुने निर्वाचन प्रयोजनका लागि आज (२०८० वैशाख ७ गते) राति १२ बजेदेखि प्रचार प्रसार गर्न नपाइने भएको छ । बैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार गर्न निषेध गरिएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको निर्वाचन आयोगथले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । यस्तै सो अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।
साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य समेत गर्न निर्वाचन आयोगले रोक लगाएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएको छ ।
उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको थियो । आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ हाल कार्यान्वयन भइरहेको छ ।
यहि बैशाख १० गते तनहुँ निर्वाचन क्षेत्र नं. १, बारा निर्वाचन क्षेत्र नं. २ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रसबाट रामचन्द्र पौडेल, बारा निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (नेपाल) का रामसहाय प्रसाद यादव र चितवन निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
पौडेल राष्ट्रपति र यादव उपराष्ट्रपति निर्वाचित भएपछि तथा चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछानेको सदस्यता सर्वोच्च अदालतले खारेज गरेपछि तीन स्थानमा पद रिक्त भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया