नेपाल टेलिकमको ई–सिम विद्युत प्राधिकरणको स्मार्ट मिटरमा

0
Shares

नेपाल टेलिकमको विद्युतीय सिम नेपाल विद्युत प्राधिकरणको समार्ट मिटरमा प्रयोग हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम टेलिकमले उपलब्ध गराउने छ ।

बिहीबार एक कार्यक्रम मार्फत नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणबीच स्मार्ट मिटरमा विद्युतीय सिम प्रयोग गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरेका थिए ।

नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा पहिलेदेखि नै नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुनुले प्रविधिको क्षेत्रमा नयाँ खुड्किलो चढेको निर्देशक अच्युत बाबु घिमिरेले बताए।

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिन्छ । यस्तै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण गर्न समेत स्मार्ट मिटरले सहयोग गर्दछ ।

ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ वैशाख २०८०, बिहीबार  १७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।