बीमा क्षेत्रमा ११ हजार बढीलाई प्रत्यक्ष रोजगारी

0
Shares

बीमा क्षेत्रबाट नेपालमा ११ हजार ४०० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालयहरुमा उल्लेखित संख्यामा रोजगारी पाएका हुन् । साथै बीमा क्षेत्रमा ३ लाखभन्दा बढी बीमा अभिकर्ता र १ हजार २०० बढी बीमा सर्भेरले पनि रोजगारी पाएका छन् ।

नेपाल बीमा प्राधिरकरणका अनुसार २०७९ चैत मसान्तसम्म नेपाली बीमा बजारमा ११ हजार ४५३ जनाले रोजगारी प्राप्त गरेका हुन् ।प्राधिकरणका अनुसार बीमाको पहुँच बढ्दै जाँदा बीमा क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजागारीका अवसरहरू उल्लेख्य रूपले बढ्दै गएको हो ।  यद्यपी विसं २०७८ चैतको तुलनामा भने बीमा कम्पनीहरु एक आपसमा मर्जर तथा प्राप्ती गरेका कारण बीमा कम्पनीहरुको शाखा कार्यलयकाे संख्या घटेका कारण रोजगारी पाउनेको संख्या पनि घटेको हो । विसं २०७८ चैतसम्म बीमा कम्पनीहरुमा ११ हजार ८४६ ले रोजगारी पाएकोमा पछिल्लो एक वर्षको अवधिमा २९३ जनाले घटेको हो । विसं २०७९ असार मसान्तसमा भने बीमा क्षेत्रमा १२ हजार ३१ जनाले रोजगारी पाएका थिए । साे हिसाबले पछिल्लाे ९ महिना अवधिमा मात्रै ५७८ जनाले बीमा क्षेत्रबाट राेजगारी गुमाएका छन् ।

नेपालमा हाल ३५ वटा कम्पनीले बीमा व्यवसाय गरिरहेका छन् । जसमा १७ वटा जीवन, १६ वटा निर्जीवन र २ वटा पुनर्बीमा कम्पनी रहेका छन् । यसअघि २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा निर्जीवन बीमा कम्पनी र दुई पुनर्बीमा कम्पनी गरी कुल ४१ वटा रहेका थिए । प्राधिकरणले लिएको पुँजी वृद्धिका कारण बीमकहरु एक आपसमा मर्जर तथा प्राप्तीमा गएका कारण ६ वटा संख्या घटिसकेको छ । बैशाखमा नै केही कम्पनीहरुले एकीकृत कारोबार थाल्दैछन् । साबिक प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर ‘हिमालयन लाइफ’को नामबाट बैशाख २६ गतेदेखि एकीकृत कारोबार थाल्दैछ । यस्तै आईएम जनरल र प्रुडेन्सियलले २७ गते बुधदेखि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थाल्दैछन् । 

प्राधिकरणको तथ्यांक अनुसार चालु आवको चैत मसान्तसम्ममा बीमा कम्पनीहरुको शाखाको संख्या ३ हजार १५४ वटा रहेको छ । मर्जर तथा प्राप्ती कारणले पछिल्लो एक वर्षको अवधिमा १८३ ले घटेको हो । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधि (गत चैत) सम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालयहरुको संख्या ३ हजार ३३७ वटा रहेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको ९ महिना अवधिमा बीमकका शाखा कार्यालयहरूको ५.४८ प्रतिशत र कर्मचारीको संख्या ३.३२ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा नेपालको समग्र बीमा बजार एक वर्षमा प्रतिशतले बढेको छ । बीमा प्राधिरकणका अनुसार आर्थिक वर्ष २०७८।७९ को तुलनामा जीवन बीमाको बजार २.१४ तथा निर्जीवन बीमा बजार ४.५८ प्रतिशत बढेको हो । विसं २०७८ चैतसम्म बीमकहरुले कुल १ खर्ब ३१ अर्ब २४ करोड १३ लाख बीमाशुल्क संकलन गरेकोमा २०७९ चैतसम्म आइपुग्दा ३ अर्ब ५० करोड ८३ लाखले वृद्धि भएर १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ पुगेको हो ।

तथ्याङ्क अनुसार जीवन कम्पनीहरुले चैत मसान्तसम्ममा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेका छन् । कुल ग्राहास्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) करिब ४ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ वैशाख २०८०, शुक्रबार  १४ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।