सेयर बजारमा दोहोरो अंकको वृद्धि, निरन्तर बजार वृद्धिले लगानीकर्तामा उत्साह

0
Shares

यस साताको अन्तिम कारोबार दिन बुधबार धितोपत्र बजारमा दोहोरो अंकले वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १६.४९ अंकले बढेर १९५९.१२ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५८ अङ्कले उकालो लागेर ३७१.३१ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल १३ वटा उपसमूहगत सूचकमध्ये फाइनान्स, जलविद्युत र म्युचुअल फन्डमा सामान्य गिरावट आएपनि बाँकी सबै दश वटामै हरियाली छाएको छ । उत्पादनमुलक ४.६९ प्रतिशतले वृद्धि भएको छ भने होटल तथा पर्यटनमुलक ४.४७ प्रतिशतले वृद्धि भएको छ । यस्तै लघुवित्त २.१८, ब्यापार १.६० प्रतिशत, अन्य १.५३, निर्जीजन बीम १.२९ र जीवन बीमाको इन्डेक्स १.२० प्रतिशतले उकालो लागेको छ ।

यसदिन कूल ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर १ अर्ब ८७ करोड ३० लाख १८ हजार रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । हिजो मंगलबार २ अर्ब २० करोड २३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोड रुपैयाँले घटेको हो ।

बुधबार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको ३ लाख २६ हजार ३४ कित्ता सेयर १९७९ वटा संङ्ख्यामा खरिद बिक्री भयो । यस्तै बुधबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ७४ लाख ७१ हजार, हिमालयन डिष्टिलरीको ५ करोड ८१ लाख २९ हजार, सोल्टी होटलको ५ करोड ६८ लाख १९ हजार र ओरियन्टल होटलको ४ करोड ६० लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आजको बजारमा आत्मनिर्भर लघुवित्त युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै शिवम् सिमेन्टस ६.७६ प्रतिशत, ग्लोबल आइएमई ब्यालन्स फन्ड–१ को इकाईमूल्य ६.६९ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ६.५६ प्रतिशतले बढेको छ ।

उता सानिमा इक्वीटी फन्डको इकाईमूल्य ३.७७ प्रतिशतले घट्दा अजोड इन्स्योरेन्सको सेयरमूल्य ३.६३ प्रतिशतले घटेको छ । यस्तै सुपर मादी हाइड्रोपावरको ३.४०, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को इकाईमूल्य ३.२९ र लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य ३ प्रतिशतले घटेको छ ।

मंगलबारको वृद्धिसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पुँजीकरण २८ खर्ब ५८ अर्ब ६ करोड २६ लाख ३० हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबारको तुलनामा २४ करोड ६ लाख रुपैयाँले धेरै हो ।

बिहीबार सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक विदा दिएकाले यो साताको अन्तिम कारोबार बुधबार नै रहेको छ । अब आइतबार नियमित समयमा सेयर बजार खुला हुनेछ ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको हो । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० जेठ २०८०, बुधबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।