सरकारले आगामी आर्थिक वर्षमा पर्यटनमा दुई अर्ब ५८ करोडले बजेट वृद्धि गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन ।
चालु आर्थिक वर्ष २०७९/८० मा पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड र हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड विनियोजन गरी २१ अर्ब ६२ करोड बजेट विनियोजन भएको थियो । सरकारले आगामी आर्थिक वर्षमा नयाँ पर्यटकीय गन्तव्य र विस्तारका लागि दुई अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।
१० लाख पर्यटक भित्र्याउने लक्ष्य
सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त लक्ष्य घोषणा गरिएको हो ।.jpg)
.jpg)
सन् २०१९ मा हालसम्मकै बढी १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीकाकारण झण्डै तीन वर्ष खुम्चिएको विदेशी पर्यटक आगमन सन् २०२३ को चार महिनामा पुरानै लयमा फर्कने संकेत गरेको छ । सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना औसतमा करिब एक लाख विदेशी पर्यटक आइरहेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ को चार महिनामा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० मा दुई लाख २० हजार छ सय ८२, सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
भ्रमण दशक मनाइने
सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने घोषणा गरेको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकको रुपमा मनाउने घोषणा गरेको हो ।
बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने योजना उल्लेख छ । पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने समेत सरकारको लक्ष्य छ । त्यस्तै हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने र पर्यटकीय सेवाको गुणस्तर सुधार गर्ने बजेटमा उल्लेख छ ।
बजेटमा अन्तर प्रदेश हवाई सेवा विस्तार गरिनुका साथै हिमाली पदयात्रा हिमालयन ग्रेट ट्रेल निर्माण गरिने, पशुपति क्षेत्र विकासको बृहत गुरुयोजना कार्यान्वयनमा ल्याउने र लुम्बिनी गुरुयोजनालाई परिस्कृत गरिने समेत उल्लेख छ ।
बजेटमा महत्वपूर्ण सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने, हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गर्ने, भूकम्पबाट क्षतिग्रस्त २५ वटा सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न गर्ने रहेको छ । साथै कोशी प्रदेशको पाथिभरा, चरारा बराहक्षेत्र, हलेसी, किरातहरुको उद्गम स्थल तुवाचुङ, बागमती प्रदेशको भीमसेन र कालिन्चोक महादेव संरक्षण र प्रवर्द्धन गरिने बजेटमा उल्लेख छ ।
टाकुरा पर्यटन प्रवर्द्धन गरिने
‘अतिथि देवो भवः’ भन्ने नेपाली संस्कृति अनुरुप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिनेछ । ‘नेपाल घुमौ, नेपाल चिनौ’ भन्ने नारासहित अभियान सञ्चालन गरिनेछ । साहसिक चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । पहाडी शहरलाई हिलस्टेशनका रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न आगामी आवमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक–एक हिल स्टेशन विकास गरिने उल्लेख छ । काठमाडौँ उपत्यका लगायत सम्भाव्य स्थानमा हाइकिङ तथा टाकुरा पर्यटन प्रवर्द्धन गरिने बजेटमा जनाइएको छ ।
प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाइने
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवा प्रदायक अलग–अलग निकायको रुपमा स्थापित गरिने आगामी आर्थिक बर्षको बजेटमा उल्लेख छ ।
उडान सुरक्षालाई उच्च प्राथमिकतामा राखी गुणस्तरीय पूर्वाधार विकासमा सुधार गर्नुका साथै नियामकीय भूमिकालाई सबल बनाइने अर्थमन्त्री डा महतले बताउनुभयो ।
बजेटमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने उल्लेख छ । गौतमबुद्ध विमानस्थलमा बौद्धमार्गी बाहुल्यता भएका मुलुक भारत, चीन, श्रीलंका थाइल्याण्डलगायत राष्ट्रबाट सिधै उडानको व्यस्था मिलाउने सरकारको लक्ष्य छ । अन्तर्राष्ट्रिय मुलुकसँग हवाई सम्पर्क सञ्चाल विस्तारका लागि द्विपक्षीय हवाई सेवा सम्झौता गरिने बजेटमा समेटिएको छ ।
निजगढ विमानस्थल निर्माण अघि बढाइने
सरकारले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा विमानस्थल बनाउन लागिएको हो । आयोजनाको पूर्व तयारीका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए ।
उनका अनुसार यसवर्ष वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्तिसहितका पूर्वतयारीका काम सकिनेछ । लगानीको मोडालिटी टुङगो लगाएर निर्माण चाँडै अगाडि बढाइने बजेटमा घोषणा गरिएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यो विमानस्थल निर्माण गरिने उल्लेख छ ।
वायुसेवा निगमको पुर्नसंरचना गरिने
आगामी आर्थिक वर्षको बजेटमा सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को पुर्नसंरचना गरी व्यवस्थापकीय कार्यमा सुधार गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा पनि वायु सेवा निगमको पुर्नसंरचना गरिने उल्लेख छ ।
आर्थिकरुपमा निकै कमजोर बनेको वायुसेवा निगमलाई व्यावसायिकरुपमा सबल बनाउँदै बजार हिस्सा बढाउन सरकारले आवश्यक तयारी गरिरहेको बजेटमा उल्लेख छ । आन्तरिक उडानलाई प्रभावकारी बनाउन थप जहाज खरिद गरेर गन्तव्य विस्तार गर्ने निगमको योजना छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् । आन्तरिक उडानतर्फ हाल दुई थान ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।
आठ विमानस्थल स्तरोन्नति गरिने
सरकारले आगामी आर्थिक वर्षमा आठ विमानस्थलको स्तरोन्नत्ति गर्ने भएको छ । आगामी आवको बजेटमा विराटनगर, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने जनाइएको छ ।
रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने बजेटमा घोषणा गरिएको छ । दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने उल्लेख छ । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया