डेभलपमेन्ट बण्डको ब्याजदर आधा प्रतिशत बिन्दुले घट्यो

नोटबजार संवाददाता
काठमाण्डौं ।
१९जेष्ठ, २०८०, शुक्रबार / Jun 02, 2023 19:02:pm

सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गर्ने विकास ऋणपत्रको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत बैंक दर घटाएपछि विकास ऋणपत्रको ब्याजदर पनि घटेको हो ।

केन्द्रीय बैंकले नीतिगत दर र बैंकदर बढाएपनि निरन्रत बढ्दो गतिमा रहेको ब्याजदर बैंशाख देखि घट्न थालेको हो । गत चैतमा बैंकहरुले निक्षेपको ब्याजदर घटाएपछि क्रमस सरकारले आन्तरिक ऋण उठाउन जारी गर्ने टे«जरी बिल्सको डिस्काउन्ट रेट पनि घटेको थियो ।

नेपाल बैंकर्स संघले बैंशाख महिनाका लागि निक्षेपको ब्याजदर १.०१ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको थियो । संघले नेपाल राष्ट्र बैंकले नीतिगत तथा बैंक दरलाई नचलाउँदा पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । संघले ११ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गर्यो । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत कायम ग्रयो । त्यसैगरी कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ ।

बैंकहरुले निक्षेप र बचतको ब्याजदर घटाएपनि केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासीक समीक्षा मार्फत बैंक दर एक प्रीतशत विन्दुले घटाएर ७.५ प्रतिशत कायम गर्यो । त्यसपछि अल्पकालीन र दीर्घकालिन रेटहरु झनै घट्दो क्रममा देखिएको छ । दोहोरो अंकमा रहेको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि नीतिगत दरको हाराहारीमा आएको छ ।

सरकारले जारी गरेको पछिल्लो ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २८ दिनेको ७.९१ प्रतिशत कायम भएको छ । त्यसैगरी ९१ दिने ट्रेजरी बिल्सका ९.३३, १८२ दिनेको ९.३६ र ३६४ दिने ट्रेजरी बिल्सको ८.८१ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल्सको डिस्काउन्ट रेटसँगै विकास ऋणपत्रको कट अफ रेट पनि घटेको हो । सरकारले एक अर्ब आन्तरिक ऋण उठाउनका लागि जारी गरेको विकास ऋणपत्रको कट अफ रेट ०.५७ प्रतिशत बिन्दुले घटेर ८ प्रतिशतमा झरेको छ । यसभन्दा अघि जेठ २ गते निष्कासन भएको विकास ऋणपत्रको कट अफ रेट ८.५७ प्रतिशत थियो ।

सरकारले निष्कासन गरेको ५ वर्ष अवधिको १० अर्ब बराबरको ऋणपत्रका लागि ३९ अर्ब २२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसका लागि ३० आवेदकले ११२ आवेदन मार्फत बोलकबोल गरेका थिए । बिहीबार कायम भएको विकास ऋणपत्रको ब्याजदर यो आर्थिक वर्षकै न्यून हो ।

चालु आवमा विकास ऋणपत्रको ब्याजदर करिब ११ प्रीतशत सम्म पुगेको थियो । पछिल्लो समयमा निरन्तर घटेर ८ प्रतिशतमा झरेको हो । यो सँगै चालु आवको विकास ऋणपत्रको औसत कट अफ रेट समेत घटेर ६.९१ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको अन्तेमा विकास ऋणपत्रको औसत अफ रेट ७.७४ प्रतिशत थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments