धितोपत्र बोर्डको कमजोरीले घोराही सिमेण्टमा सर्वसाधारणको ४ अर्ब बन्धक


घोराही सिमेण्टको प्राथमिक निष्काशनमा आवेदन दिएका सर्वसाधारणको ४ अर्ब रुपैयाँ अनिश्चितकालका लागि बन्धक भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कमजोर वित्तीय अवस्था भएको कम्पनीलाई प्रिमियममा सेयर निष्काशन अनुमति दिँदा उत्पन्न समस्याले लगानीकर्ताको अर्बौँ रुपैयाँ फसेको हो ।

बोर्डले निष्काशनको पाचौं दिनमा कैफियत देखिएको भन्दै अनुसन्धान गर्न कम्पनीको सेयर निष्काशन प्रकृया स्थगित गरेको छ । कम्पनीले निष्काशन गरेको साधारण सेयर बिक्री खुल्ला भएको सुरुका ४ दिनमा ओभर सब्स्क्राइब भए पनि म्याद थप गरेको थियो । सो पश्चात बोर्डले फर्जी आवेदनका भरमा आभरसब्स्क्राइब गराइएको आशंकामा अनुसन्धानका लागि सेयर निष्काशन प्रकृया रोकेको हो । बोर्डले यस सम्बन्धमा छानबिन गर्न समिति नै गठन गरि काम गरिरहेको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । “समितिले दिने प्रतिवेदनका आधारमा बोर्डले आवश्यक निर्णय गर्छ,” उनले भने ।

कम्पनीको साधारण सेयरमा फर्जी आवेदन पर्नु तथा म्याद थप गरिएको विषयलाई क्रेडिट रेटिङ एजेन्सी र प्रत्याभूतकर्तालाई जोडेर बोर्ड आफु जोगिन खाजेको छ । बोर्डले कम्पनीको सम्पुर्ण वित्तीय विबरण विश्लेषण गरेर प्रिमियममा सेयर निष्काशनको अनुमति दिएको थियो । तर पनि बोर्डले रेटिङ एजेन्सी र प्रत्याभूतकर्तालाई देखाउँदै उम्किन खोजेको हो ।
बोर्डले आम लगानीकर्ताको हीतमा नभई निष्काशनकर्ता कम्पनीको पक्षमा काम गर्दा घोराही सिमेण्टको प्राथमिक निष्काशनमा समस्या देखिएको हो । कम्पनीले औषतभन्दा राम्रो कार्यसम्पादन नगरेको अवस्थामा पनि बोर्डले प्रिमियममा सेयर जारी गर्न अनुमति दिनुले पनि कम्पनीको पक्षमा निर्णय गरेको प्रष्ट हुन्छ ।

बोर्डको यस्तो कमजोरीका कारण अन्तिम चरणमा घोराही सिमेण्टको प्राथमिक निष्काशनमा आवेदन दिएका लगानीकर्ताको ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी रकम अनिश्चितकालका लागि बन्धक भएको छ ।

कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँको दरमा निष्काशन गरेको सेयरमा लगानीकर्ताले ८१ लाख ६२ हजार कित्ता सेयर माग गरेका छन् । आस्वा सदस्य बैंक वित्तीय संस्थाले प्रमाणिकरण गरेको तथ्यांक अनुसार उल्लेखित सेयरका लागि लगानीकर्ताले ३ अर्ब ५५ करोड ७ लाख रुपैयाँ बुझाएका छन् । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरमा ३ अर्ब ६५ लाख ७६ हजार ४५० रुपैयाँ बराबरको ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको थियो ।

वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि कम्पनीले २०८० बैशाख १९ देखि जेठ २ गतेसम्म ४३५ रुपैयाँको दरमा ७ लाख ५४ हजार ६६१ कित्ता सेयर निष्काशन गरेको थियो । तर वैदेशिक रोजगारीमा गएकाहरुबाट ६ लाख ६ हजार ३५० कित्ता सेयर मात्र माग भएपछि सबै आवेदकलाई मागेजति सेयर वितरण गरेको थियो । यो तथ्यांक अनुसार वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई २६ करोड ३७ लाख ६२ हजार २५० रुपैयाँ बुझाइसकेका छन् ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका आसपासका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कम्पनीले २०८० बैशाख १९ देखि जेठ १७ गतेसम्म साधारण सेयर निष्काशन गरेको थियो । अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरमा ३ लाख ९७ हजार १९० कित्ता सेयर निष्काशन गरेकोमा ७७ हजार २९० कित्ता सेयर मात्र माग भएको थियो । जस अनुसार आयोजना प्रभावितहरुले पनि कम्पनीलाई ३ करोड ९ लाख १६ हजार रुपैयाँ भुक्तान गरिसकेका छन् ।

कम्पनीको संस्थापकका आसेपासेले नै भर्न नचाहेको सेयर बोर्डले सर्वसाधारणमा बिक्री गर्न दिनु नै शंकास्पद भएको एक लगानीकर्ताले बताए । “सुरुमा कम्पनी सबल छ भनेर सेयर निष्काशनको अनुमति पनि आफैँ दिने, अहिले आएर कम्पनीले बदमासी गर्यो भन्दै रोक्ने ?,” ति लगानीकर्ताले भने, “बोर्डले लगानीकर्ताको न्यान बिर्सेर कम्पनीको हीतमा काम गरेको यसले नै पुष्टि गर्छ ।”

अर्का एक लगानीकर्ताले कम्पनीको सेयरमा धितोपत्र बोर्डले लगानीकर्तालाई फसाएको आरोप लगाए । “साधारण लगानीकर्ता, आयोजना प्रभावितस्थलका लगानीकर्ता, कर्मचारी, वैदेशिक रोजगारीमा गएका तथा सामुहिक लगानी कोषले पहिले नै जोखिम देखेर लगानी गर्न इच्छा नदेखाएको सेयरलाई बोर्डले महंगो मूल्यमा बिक्री गर्न कसरी अनुमति दियो ?,” उनले बोर्डसँग प्रश्न गरे । बोर्डकै कारण लगानीकर्ताको अर्बौँ रुपैयाँ बन्धक भएको भन्दै उनले तत्काल लगानीकर्ताको हीतलाई हेरेर बन्धक भएको रकम फुकुवा गराउनु पर्ने उनको माग छ ।

सार्वजनिक निष्काशनको ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएकोमा सामुहिक लगानी कोषहरुले ३ लाख २८ हजार ९६१ कित्ता सेयर मात्र सकारेका थिए । यस आधारमा सामुहिक लगानी कोषहरुले उक्त सेयरमा प्रतिकित्ता ४३५ रुपैयाँको दरमा १४ करोड ३० लाख ९८ हजार रुपैयाँ पनि कम्पनीलाई भुक्तान गरिसकेका छन् ।

कम्पनीका कर्मचारीका लागि पनि सार्वजनिक निष्काशनको ५ प्रतिशतले ३ लाख ७७ हजार ३३१ कित्ता सेयर सुरक्षित गरेकोमा कर्मचारीले १९ हजार ५३० कित्ता सेयर मात्र माग गरेका थिए । कम्पनीका कर्मचारीले पनि प्रिमियमसहित ४३५ रुपैयाँको दरमा घोराही सिमेन्टलाई ८४ लाख ९५ हजार ५५० रुपैयाँ बुझाईसकेका छन् ।

आयोजना प्रभावित, वैदेशिक रोजगारीमा गएका, सामुहिक लगानी कोष र स्यम् कम्पनीका कर्मचारीले घोराही सिमेण्टको निष्काशित सेयरमा आवेदन दिन इच्छा देखाएका थिएनन् । जसका कारण उनीहरुलाई छुट्याइएको तर बिक्री नभएको लाखौं कित्ता सेयर पनि सर्वसाधारणमा निष्काशन गरिएको थियो । यसले बोर्डले निर्देशित गरेका विशेषाधिकारवाहरुले समेत कम्पनीको सेयर खरिद गर्दा प्रिमियम तिर्न नचाहेको प्रष्ट हुन्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।