बुक बिल्डिङमा विवादित सर्वोत्तम सिमेन्टको आम्दानीसँगै रेटिङ्ग पनि घट्यो

0
Shares

नेपालमै पहिलो पटक बुक बिल्डिङबाट प्रिमियम मूल्यमा आइपीओ जारी गर्न खोजेर विवादमा परेको सर्वोत्तम सिमेन्टको आम्दानी ३८.३१ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा ३ अर्ब ६४ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । गत आवमा ७ अर्ब ८८ करोड ७० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी चालु आवमा घटेको हो । गत आवको तथ्यांकलाई चालु आवको ९ महिनाको तथ्यांकसँग तुलना गर्दा कम्पनीको आम्दानीमा एक तिहाइ भन्दा धेरैको गिरावट देखिएको हो ।

पछिल्लो समयमा पूर्वाधार निर्माणका काममा आएको कमी र बजारमा सिमेन्ट तथा क्लिंकर उत्पादक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै जाँदा कम्पनीको आम्दानी प्रभावित बनेको छ । कम्पनीको आम्दानीमा गिरावट आएसँगै अन्य वित्तीय सूचांकहरुमा समेत गिरावट आएको छ । चालु आवको ९ महिनामा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १७ प्रतिशत छ जुन गत आवमा १९ प्रतिशत थियो ।

सन् २०१० मा स्थापना भएको कम्पनीले क्लिंकर र सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको सिमेन्ट उत्पादन क्षमता प्रति वर्ष ४ लाख मेट्रिक टन रहेको छ भने क्लिंकर उत्पादन क्षमता १० लाख मेट्रिक टन रहेको छ । कम्पनीले ‘सर्वोत्तम’ ब्रान्डनामबाट ओपिसी र पिपिसी सिमेन्टको बिक्री वितरण गर्दै आएको छ।

सर्वोत्तम सिमेन्ट उद्योगमा सौरभ ग्रुपको लगानी रहेको छ । कम्पनीको प्रमोटर शुभश्री जगदम्बा सिमेन्ट रहेको छ । कम्पनीले ४ अर्ब ६८ करोड ६० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ८७ करोड ६० लाख बराबरको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले ट्रिपल बी रेटिङ गरेको छ । यस्तै ३ अर्ब ८१ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए-३ प्लस रेटिङ गरेको छ ।

कम्पनीलाई यस अघि इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि ट्रिपल बी प्लस र अल्पकालीन कर्जाका लागि ए२ रेटिङ गरेको थियो । कम्पनीको आम्दानीमा आएको गिरावटका कारण इक्रा नेपालले कर्जा रेटिङ समेत घटाएको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सकने क्षमता कुल कर्जाको २.११ गुणा रहेको छ ।

कम्पनीले बुक बिल्डिङ्ग विधिबाट प्रिमियम मूल्यमा ६० लाख कित्ता सेयर जारी गर्न खोजेको थियो । प्रतिकित्ता ७५० हाराहारीमा बिक्रीको प्रस्ताव अगाडि सारेको थियो । तर सर्वसाधारणमा सेयर बिक्रीमा नल्याउँदै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदको पारिवारिक सदस्यका नाममा उक्त कम्पनीको संस्थापक सेयर हस्तान्तरण गरिएको पाइएपछि उक्त कम्पनीको सार्वजनिक निष्कासन प्रकृया नै विवादित अवरुद्द बन्न पुगेको थियो । साथै पुँजी बजारका नियामक निकायका दुबै प्रमुखहरुले पारिवारको नाममा सेयर खरिद गरेको तथ्य बाहिर आएपछि धितोपत्र बोर्डका अध्यक्ष  ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ साउदले आफ्नो पदबाट समेत राजीनामा दिएका थिए ।

अर्थ मन्त्रालयका कानून महाशाखा प्रमुख पराश्वर ढुंगानाको संयोजकत्वमा छानबिन समितिको सुझाव बमोजिम अर्थ मन्त्रालयको प्रस्तावमा १६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्दै कानून बमोजिम उनलाई पदमुक्त गर्न पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा न्यायिक समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदन बमोजिम व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत पारिवारिक सदस्यको नाममा सेयर खरीद गरेका बोर्डका अध्यक्ष ढुंगाना अन्ततः मन्त्रिपरिषदको २०७८ असोज १९ गते मंगलबार बर्खास्त भएका थिए । विवाद लम्बिँदै गएपछि त्यसअघि नै नेप्सेका सीईओ साउदले २०७८ भदौ ८ गते र धितोपत्र बोर्डको सञ्चालक चन्द्र ढकालले भदौ ९ गते मा राजीनामा दिएका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।