घोराहीको आईपीओ आवेदन फिर्ता गर्ने समय अपुग, बोर्डले दिएको अवधिमा विदा समेट्दा विरोध

0
Shares

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको साधारण सेयर निष्कासन (आईपीओ) मा आवेदन फिर्ता गर्न सकिने निणर्य निष्कासन कम्पनीको पक्षमा देखिएको छ ।बोर्डले आवेदन फिर्ता गर्न ३ दिन तोकेको भएपनि कम्पनीले पनि शुक्रबार र शनिवार पारेर सो अवधि तय गरेपछि लगानीकर्ताको अर्बौं लगानीलाई वेवास्ता गरेको स्पष्ट भएको हो ।

बोर्डले सार्वजनिक निष्कासनमा विदाको दिन बाहेक छिटोमा ४ कार्यदिन समय दिने गरेको छ । तर, फर्जी आवेदनको प्रकरणमा परेको घोराही सिमेन्टको आईपीओ आवेदन फिर्ताका लागि ३ दिन मात्र तोकेको छ । बोर्डले फिर्ता गर्ने अवधि ३ कार्यदिन नभनी दिन मात्र भनेर कम्पनीको लगानीकर्ताभन्दा पनि कम्पनीको हीतमा निणर्य गरेको लगानीकर्ताले बताएका छन् ।

बोर्डले तोकेको अवधिमा कम्पनीसँगको मिलिभगतमा भएको पनि स्पष्ट हुन आउँछ । फर्जी आवेदन प्रकरणको अध्ययन सकेर बोर्डले गत बुधबार मात्र आवेदन फिर्ता तथा कारबाही के कस्तो गर्ने निणर्य गर्यो । बोर्डले निणर्य गरेको २ दिन लगत्तै कम्पनीले शुक्रबार र शनिबार पारेर आवेदन फिर्ता नहोस् भन्ने हेतुले सूचना प्रकाशित गर्यो । सोही अनुसार साधारण सेयर निष्कासन तथा फिर्ता लिन सकिने भनेर प्रक्रिया सुरु गर्यो । यसले पनि बोर्डले लगानीकर्ता भन्दा पनि कम्पनीको हितमा काम गरेको स्पष्ट हुन्छ ।

त्यसैगरी आवेदन फिर्ता लिनका लागि पनि सम्बन्धित आश्वा सदस्य कहाँ लिखित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यसले लगानीकर्तालाई आवेदन फिर्ता गर्न अवसर दिएपनि प्रक्रिया पूरा गर्न सकिने अवस्था नरहेको लगानीकर्ता बताउँछन् । कम्पनीले बोर्डसँगको मिलेमोतोमा छोटो समय र लामो प्रकृया कायम गरेर फिर्ता गर्न नदिने मनासाय राखेको आरोप उनीहरुको छ ।

घोराही सिमेन्टसको आईपीओ सुरुदेखि नै विवादित भएको लगानीकर्ताहरु बताउँछन् । विवादित कम्पनीको साधारण सेयरको सन्दर्भमा लगानीकर्ता छाता संगठनहरुको संयुक्त छलफलबाट निष्कर्ष निकालिने नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलले बताइन् ।

“घोराहीको आईपीओको प्रक्रिया हेर्दा अदालत नै पुग्नुपर्ने हो कि भन्नेसम्मको अवस्था सिर्जना भएको छ,” उनले भनिन्, “कतिपय स्थानमा लगानीकर्ता बैंकको शाखासम्म पुग्नै एकदिन लाग्ने अवस्था भएकाले मेरो सेयरबाट नै आवेदन सच्चाउन वा रद्द गर्ने व्यवस्था गर्नुपर्छ ।” निकै विवादित बनेको घोराहीको आईपीओमा स्थानिय र वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँड गरिसकेको विषयमा बोर्डले केही नबोलिएको उनले बताइन् । “यो आईपीओमा लगानीकर्ता धेरै नै भ्रमित भैसकेका छौं,” उनले भनिन्,“यसमा सुरुदेखि अहिलेसम्म देखिएको चलखेलले आशंका पैदा गरेको छ ।” नियामकहरुले गर्ने निणर्यहरुले सेयर बजारमा कोही नआउन् भन्ने बनाईदिएको उनको बुझाई छ ।

त्यसैगरी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले घोराही सिमेन्टको आईपीओमा विदा बाहेकको तीन कार्यदिनको समय आवेदन फिर्ताका लागि उपलब्ध हुनुपर्ने बताए ।

घोराही सिमेन्टको आईपीओ आवेदन फिर्ता लिन बैंकमै पुगेर आइतबारभित्र लिखित निवेदन दिनुपर्ने

निष्कासन कम्पनीका बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले बोर्डको निर्देशनको पालना गरेको दावी गरेका छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसार पन्ध्र दिनभन्दा बढी धितोपत्र बिक्री खुला गर्न नपाइने भएकाले उक्त तीन दिनको समय दिएको उनीहरु बताउँछन् । नोटबजारसँगको कुराकानीमा बिक्री प्रबन्धकहरुले बोर्डबाट आवेदन संसोधन वा फिर्ता लिनका लागि फेरि समय थप गर्न निर्देशन दिए सो अनुसार नै गर्न आफूहरु तयार रहेको जानकारी गराए ।

मेरो सेयरबाट नै आवेदन संसोधन वा थपघट गर्न मिल्ने सिस्टम सिडिएस एण्ड क्लियरिङ्गले विकास गरेको छैन । घोराही सिमेन्टको प्रकरण परिकल्पना नै नगरीएको बताउँदै सीडीएस एण्ड क्लियरिङ्गका प्रवक्ता सुरेश न्यौपानेले भने, “मेरो सेयरको निर्माण एउटा स्ट्याण्डर्डमा भएको हुनाले आवेदन गरिएको सेयर थप घट वा रद्द गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्था नै पुग्नुपर्ने हुन्छ ।” सेयरमा आवेदन दिँदा रकम रोक्का वा फुकुवा गर्ने काम बैंकले नै हेर्ने भएकोले संसोधन वा थपघटको कामका लागि पनि आस्वा सदस्यकोमा नै जानुपर्ने उनको भनाई छ ।

गत जेठ ३२ गतेदेखि घोराहीको साधारण सेयर बिक्री खुला भएकोमा असार ४ गते बोर्डले स्थगित गराएको थियो । बिक्री खुला सूरु भएदेखि नै फर्जी आवेदन परेपछि कम्पनीले छिटोमा ४ दिनभित्र बिक्री बन्द गर्नुपर्नेमा समय थप गरेको थियो । फर्जी आवेदनले कम्पनीको सेयरमा अधिक आवेदन परेको देखाइए पनि वास्तविकता त्यसो नभएपछि बिक्री खुला अवधि बढाइएको थियो । कम्पनीले बिक्री खुल्ला अवधि थप गरेपछि धितोपत्र बोर्डले चासो देखाउँदै अनुसन्धान गर्न निष्कासन प्रक्रिया नै स्थगित गर्यो ।

बोर्डको अनुसन्धानमा खातामा रकम नभएपनि दर्जन बढी लगानीकर्ताले अस्वभाविक रुपमा ठूलो कित्ता खरिद गर्न आवेदन दिएको भेटिएको थियो । बोर्डले खातामा पैसा नभई ठूलो मात्रामा सेयर आवेदन दिने उपर जालसाजीमा छानविन गर्न नेपाल प्रहरीलाई सिफारिस गरेको छ । यस्तै बोर्डले आश्वा सदस्य एनआईसी एशिया बैंकले खातामा प्रयाप्त रकम नभई आवेदन स्वीकृत गरेपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

सम्बन्धीत अन्य समाचारहरू:-

घोराही सिमेन्टको आइपीओ प्रकरणमा संघईद्वारा एनआईसी एशिया बैंकको गलत प्रयोग

घोराही सिमेन्टको आइपीओ आवेदन फिर्ता गर्न ३ दिनको समय

धितोपत्र बोर्डको कमजोरीले घोराही सिमेण्टमा सर्वसाधारणको ४ अर्ब बन्धक

निष्काशन भईरहेको आईपीओ पहिलो पटक स्थगित, घोराही सिमेन्टको रेटिङमा कैफियत

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।