चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफदिइयर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबईस्थित यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूकाबीच हुने एक भब्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ ।
एशियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफलिभिङका सस्थापक श्रीश्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यान लगायत सम्मानित भएका छन् ।
नेपालका एकमात्र फोब्समा सुचीकृत अर्बपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसन मार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् ।
नेपालमा सन् २०१५मा गएको महाभुकम्पका समयमा भूकम्प पीडितका लागिकरिव तीनहजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटा पक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदानमाथि फोब्र्स एशियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।
विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो । कोभिड महामारीको समयमा आईसियू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त बार्ड निर्माणले ठूलो राहत पुगेको थियो ।
फाउण्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) निर्माण गरि हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरूपनि सहयोग गरेको थियो । अहिले चौधरी फाउण्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवापाउने वातावरण बनाउन लागिरहेको छ ।
चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविको पार्जन, महिला सशक्तिकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।
चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन् । अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न ७ भाषामा प्रकाशित छ ।
प्रतिक्रिया