सन नेपाल लाइफको कर्मचारी सेयरमा उच्च अधिकारीको हालिमुहाली, धितोपत्र बोर्डमा उजुरी

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा उच्च अधिकारीको हालीमुहाली भएको छ । कम्पनीका उच्च अधिकारीले कर्मचारीका लागि छुट्याएको सेयर आफू अनुकुल हुने गरी सेयर बाँडफाँड गरेपछि विवाद बढेको हो ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने ९६ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको छ । सर्वसाधारणका लागि छुट्टयाएको ९६ लाख कित्ता सेयरमध्ये कम्पनीले १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा भएकार नेपालीका लागि जारी गरेको थियो । त्यसैगरी कुल निष्काशित सेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता समुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ । त्यसैगरी कम्पनीले कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीका लागि बाँडफाँड गरेको छ । सबै विशेष अधिकार भएका सेयरपछि ७६ लाख ८० हजार कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री गरिएको थियो । सर्वसाधारणलाई बिक्री गरिएकाे सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुँदैछ । कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि अंकित मूल्यमा १३ढ रुपैयाँ थप गरी प्रति कित्ता २३९ रुपैयाँमा बिक्री गरेको हो । तर, कर्मचारीलाई भने प्रति कित्ता एक सय रुपैयाँ मै दिएको हो । 

कर्मचारीलाई अंकित मूल्य एक सय रुपैयाँ दरमा नै सेयर दिएको कम्पनीले वैदेशिक रोजागारीमा रहेका नेपाली कामदार, सामुहिक लगानी कोष र आम सर्वसाधारणमा भने १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो ।

यद्यपी कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयरमा उच्च व्यवस्थापनका केही अधिकारीले आफूखुसी निर्णय गरेर बाँडफाँड गरेपछि नेपाल धितोपत्र बोर्डमा उजुरी परेको हो । कर्मचारीहरुलाई न्यायोचित बाँडफाँड नभएको भन्दै धितोपत्र बोर्डमा बेनामे उजुरी परेको हो । बोर्डमा बुधबार दर्ता भएको उक्त उजुरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले तल्लो तहका कर्मचारीलाई अन्याय हुनेगरी सेयर बाँडफाँड गरेको हुनाले त्यसको छानबीनको माग गर्दै उजुरी आएको धितोपत्र बोर्ड स्रोत जानकारी दियो ।

बोर्डमा बुझाएको उजुरीमा कर्मचारीका लागि सेयर बाँडफाँड गरिसकेको भएपनि कुन कर्मचारीले कति कित्ता सेयर पायो भन्ने जानकारी हालसम्म पनि नभएको उल्लेख छ । “कर्मचारीलाई खाली पेपरमा हस्ताक्षर गर्न लगाई कम्पनीको तर्फबाटै ऋण लगानी गरी सेयर खरिद प्रक्रिया पूरा गरेको उजुरीमा उल्लेछ छ,” स्रोतले भन्यो,“कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित तीन जनाले कर्मचारीका लागि छुट्याएको सेयरको असमान वितरण गरेपछि असन्तुष्ट पक्षले बोर्डमा उजुरी दिएको देखिन्छ ।”

सन नेपाल लाइफकै सन्दर्भमा बाँडफाँड भैसक्दा समेत कर्मचारीले कति सेयर पाए भन्ने कर्मचारी जानकार छैनन् । त्यसका साथै उच्च व्यवस्थापकको नजिक भएको कर्मचारीलाई धेरै र अन्यलाई थोरै दिएको समेत स्रोतको दाबी छ । त्यसका साथै कर्मचारीको पद तथा सेवा अवधिलाई समेत कुनै आधार नबनाई सेयर बाँडफाँड गरिएको जानकारी स्रोतले दिएको छ । त्यतिमात्र नभई उच्च व्यवस्थापनले धितोपत्र बोर्ड र बीमा समितिका अधिकारीलाई समेत सेयर दिनुपर्ने भन्दै आफैँले लिएको समेत स्रोतको दाबी छ ।

कर्मचारीलाई कति सेयर दिने भन्ने विषयमा धितोपत्र दर्ता तथा निष्काशन निर्देशिकामा उल्लेख भएपनि त्यसलाई कसरी बाँडफाँड गर्ने भन्ने विषयमा स्पष्ट नीति नभएको धितोपत्र बोर्डका एक अधिकारीले बताए । “कर्मचारीलाई छुट्याएको सेयरमा विवाद आएको भन्दै हालसम्म पनि कुनै लिखित उजुरी आएको छैन,” ती अधिकारीले भने,“बोर्डमा लिखित उजुरी आएको खण्डमा त्यसलाई बोर्डले हेर्छ ।” बोर्डमा अधिकारीहरुसँग मौखिक गुनासाहरु आउने गरेको भएपनि लिखित रुपमा अहिलेसम्म उजुरी नआएको हुनाले कर्मचारीलाई छुट्टाएको सेयरको विषयमा बोर्डले केही बोल्नु परेको अवस्था नभएको उनले बताए । सन नेपाल लाइफ इन्स्योरेन्सको कर्मचारी सेयर बाँडफाँड विवादको उजुरी नै पहिलो देखिन्छ ।

सन नेपाल लाइफको मात्र होइन सर्वसाधारण सेयर जारी गर्ने कम्पनीले कर्मचारीका लागि सेयर अनिवार्य दिनुपर्ने हुन्छ । यसरी कर्मचारीलाई छुट्याएको सेयर उच्च व्यवस्थापनले धेरै राख्ने र तल्लो तहका कर्मचारीका लागि न्यून मात्र दिने गरेका छन् । यस सन्दर्भमा उपयुक्त व्यवस्था नभएकाले पनि आफूले पाउनुपर्ने कति हो र कति पाइयो भनेर मुल्याङ्कन गर्न नमिल्ने भएकाले पनि यस्ता विवाद संस्थाभित्र दबिने गरेका छन् । साथै आफूले धेरै पाउनु दाबी गर्ने नीतिगत आधार नभएपनि त्यस विषयमा बोल्दा व्यवस्थापनको नजरमा परिने मात्र नभई कारबाही समेत भोग्नुपर्न सक्ने डरले कर्मचारीहरु चुपचाप बस्ने गरेको अवस्था छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार सङ्गठित संस्थाले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये बढीमा पाँच प्रतिशतसम्म संस्थामा कार्यरत करार र ज्यालादारी बाहेकका कर्मचारीलाई छुट्याउन सक्नेछ । एकदेखि ५० जनासम्म कर्मचारी भएको संस्थाले न्यूनतम दुई प्रतिशत, ५१ देखि १०० जनासम्म कर्मचारी भएको खण्डमा तीन प्रतिशत र १०१ देखि २०० कर्मचारी भएको संस्थाले चार प्रतिशत र २०१ देखि माथि कर्मचारी भएको संस्थाले पाँच प्रतिशत सेयर कर्मचारीका लागि बाँडफाँड गर्न सक्छ । सन नेपाल लाइफमा स्थायी कर्मचारी २३१ र अस्थायी १०२ गरी कुल ३३२ जना कर्मचारी छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।