सुदूर पश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । कार्तिक ४ गते शनिबार महासंघमा आयोजित एक कार्यक्रममा सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार प्रदेश सरकार र महासंघले सुदूर पश्चिम प्रदेशमा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पु-याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । सोही अनुसार प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी २०८० फागुन २३ र २४ गते “सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन” आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने महासंघ अध्यक्ष ढकालले प्रतिबद्धता जनाए ।
यसैगरि अध्यक्ष ढकालले भारत र चीनमा बिजनेस समीट आयोजना गरेको र त्यहाबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशहरुमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताए । महासंघको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक विकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताए ।
कार्यक्रममा सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महासंघसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनका अवसरमा सुदूर पश्चिममा लगानीको प्रतिबद्धता आउने विश्वास पनि व्यक्त गरे । प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीले सुदूर-पश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताए । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उनको धारणा थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्षद्धय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासंघ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि आफ्नो धारणा राखेकाथिए । महासंघले लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारहरुसँग पनि छलफल गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया