नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को असोज मसान्त सम्ममा १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार आम्दानी गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीले ११ अर्ब ४ करोड ९० हजार आम्दानी गरेको थियो । उक्त आम्दानीको तुलनामा कम्पनीको आम्दानी ३.५४ प्रतिशतले घटेको हो । अर्थात गत आवको असोज महिनाको टेलिकमको आम्दानीसँग तुलना गर्दा चालु आवको सोही अवधिसम्ममा कम्पनीको आम्दानी ३९ करोड १२ लाखले घटेको हो ।
चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको टेलिकमको कूल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । गत आवको सोही अवधिको कूल सञ्चालन आम्दानी ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार थियो । गत आवको तुलनामा कम्पनीको सञ्चालन आम्दानी ४९ करोड २५ लाख २१ हजार (अर्थात ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा २ अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालू आवमा १९ करोड ८० लाख ७४ हजार (अर्थात ८.९० प्रतिशत) ले कमी भएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रुपैयाँ रहेको छ । चालु आवमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोग रहेको छ ।
राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकुल असर पर्नुका साथै बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी भएको विज्ञप्तिमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया