होटल दियालोको वार्षिक आम्दानी १२ करोड बढी
होटल दियालोले सन् २०२३ मा १२ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२२ मा ९ करोड ८० लाख सञ्चालन आम्दानी गरेको होटलको आम्दानी सन् २०२३ मा २५.५१ प्रतिशतले बढेको हो ।
होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीको अन्य सूचांकहरुमा समेत सकरात्मक प्रभाव परेको छ । ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ३५.२५ प्रतिशत रहेको छ जुन सन् २०२२ मा ३३.१६ प्रतिशत थियो ।
पछिल्लो समयमा बाह्य पर्यटकहरुको आगमनमा भएको वृद्धिका कारण होटल व्यवसाय फस्ट्याउँदै गएको छ । जसकारण होटल दियालोको आम्दानी बढेको हो । यसका साथै नेपाल सरकारले पर्यटन प्रवद्र्धनका लागि ११ अर्ब ९६ करोड रकम विनियोजन गरेको छ । सरकारको पहलकदमीमा नेपालका विभिन्न ठाउँहरुमा पर्यटकहरुलाई सहज बनाउन पदमार्ग निर्माणकार्य भइरहेको छ ।
आन्तरिक पर्यटकहरुले विभिन्न जिल्लामा पुगेर नयाँ गन्तव्यहरुको खोजी गरिरहेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भिडियो, फोटो सेयर हुँदा टे«किङ, फूडहन्ट गर्ने र नेपालका विभिन्न ठाउँहरुमा घुमघाम गर्ने मानिसहरुको घुँइचो बढेको छ । यसरी पर्यटन व्यवसाय कोभिड–१९ पहिले कै लयमा फर्किएको छ । जसकारण धरासायी भएको होटल व्यवसाय बिस्तारै उकासिँदै गएको छ ।
वीरगन्जको आदर्शनगरमा अवस्थित होटल दियालो चार तारे होटल हो । करिब २.०५ एक्कर जमिनमा निर्माण भएको होटलमा कुल ६० कोठाहरु रहेका छन् । होटल दियालो हाल ‘दियालो लर्डस् प्लाजा’ ब्रान्डनामबाट सञ्चालनमा रहेको छ ।
होटलले ७० करोड बराबरको कर्जाको लागि रेटिङ गराएको छ । ६५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।