आयात घटेपनि राजस्व संकलन भने ८% ले बढ्यो, पेट्रोलियम पदार्थको आयातबाट पौने ३१ अर्ब राजस्व

0
Shares

चालु आर्थिक वर्षको कार्तिक महीनासम्ममा करिब ४ प्रतिशतले आयात घटेको भएपनि राजस्व संकलन भने ८ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण आयातमा कमी आएपछि सरकारले हेरफेर गरेको भन्सार दरका कारण राजस्व संकलन बढेको हो ।

चालु आर्थिक वर्षको कार्तिकसम्ममा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरका वस्तुहरु आयात भएका छन् । यो आयात रकम गत आवको सोही अवधिको तुलनामा ३.७९ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिको कुल आयात ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बरावरको थियो । गत आर्थिक वर्षको सो अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब परेपछि विलासीका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको थियो । सीमीत वस्तुहरुको आयातमा प्रतिबन्द लगाउँदा भन्दा आयात कम हुनु भनेको अर्थतन्त्रमा मन्दी कायमै रहेको संकेत हो । बजारमा माग सृजना हुन नसकेको तथा आर्थिक गतिविधि बढ्न नसकेको आयातमा देखिएको कमीले स्पष्ट हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो चार महीनाको आयातमा कमी आएको भएपनि राजस्व संकलन भने बढेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत आयात घटाउने गरी परिवर्तन गरेको भन्सार दरका कारणले पनि राजस्व संकलन बढेको हो । सरकारले चालु आवमा विलाशिका वस्तुहरुमा भन्सार दर बढाएको थियो भने स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि पनि भन्सार बढाई आयात घटाउने नीति अबलम्बन गरेको थियो । त्यसको असर चालु आवको पहिलो चार महीनामा आयात घट्ने र राजस्व संकलन बढेको हो ।

चालु आवको पहिलो चार महिनासम्ममा सरकारले आयात मार्फत एक खर्ब ३७ अर्ब ८ करोड राजस्व संकलन गरेको छ । यो राजस्व संकलन गत आवको सोही अवधिको तु्लनामा ८.२६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा सरकारले आयात मार्फत एक खर्ब २६ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा सरकारले सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ । उक्त शीर्षकबाट सरकारले ३० अर्ब ६८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व रकम पनि गत आवको सोही अवधिको तुलनामा थोरै हो । गत आवको सोही अवधिमा सरकारले पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब ९६ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विद्युतको प्रयोग बढेसँगै घट्यो पेट्रोलियम पदार्थको आयात

सरकारले विद्युतीय चुलो तथा सवारीको प्रवद्र्धन गरेसँगै पेट्रोलियम पदार्थको आयात समेत घटेको छ । कुल आयातमा सबैभन्दा धेरै हिस्सा रहेको पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय चुलो तथा सवारीको प्रयोगलाई प्रोत्साहन गरिएको हो ।

सरकारले उच्च ब्यापार घाटा घटाउनका लागि समेत पेट्रोलियम पदार्थको आयात घटाउन सकेको खण्डमा उच्च ब्यापार घटालाई समेत कम गर्न सकिने तर्क राख्दै आएको छ । सोही अनुसार पछिल्लो समयमा एलपीजी ग्याँसको प्रयोग घटाउन विद्युतीय चुलो र डिजेल र पेट्रोलको प्रयोग घटाउन विद्युतीय सवारीको प्रयोग बढ्न थालेसँगै पेट्रलियम पदार्थको आयात घटेको हो ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा ७८ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । यो आयात रकम गत आवको सोही अवधिको तुलनामा थोरै हो । गत आवको कात्तिकसम्ममा ८७ अर्ब ६२ करोड ७० लाख रुपैयाँ बरावरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।