मौद्रिक नीतिको समीक्षाप्रति लगानीकर्ता आशावादी बन्न सकेनन् , बिहीबार पनि नेप्सेमा गिरावट

0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारी थाल्दै गर्दा अन्तिम दिनको सेयर बजार राताम्मे बनेको छ । विशेषगरी सेयर बजारमैत्री छवी बनाउन नसकेका गनर्भर महाप्रसाद अधिकारीका कारण पहिलो त्रैमासिक समीक्षाले सेयर बजारमा सकारात्मक परिवर्तन ल्याउने आशा लगानीकर्तामा कम छ ।

सोही कारण सोमबारदेखिको बजार घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको हो । सोमबारदेखि बिहीबारसम्म मात्रै नेप्से करिब ५० अंकले ओरालो लागेको छ । आइतबार ४७ अंकले बढेको बजार त्यसपछिको हरेक दिन ओरालो लाग्दा लगानीकर्तामा चरम निराशा उत्पन्न भएको हो ।
बैंकिङ्ग प्रणालीमा बढ्दो तरलताका कारण राष्ट्र बैंकले बिहीबार मात्रै १५ अर्ब रुपैयाँ निक्षेप बोलकबोल मार्फत एक साताका लागि उठाएको छ । यद्यपी घट्दो ब्याजदर र अधिक तरलताका बीचमा पनि सेयर बजारमा मन्दी छाएको छ ।

बिहीबार सूचक १८.०६ अंकले घटेर १८५८ दशमलव ५३ को विन्दुमा झरेको छ । दिनभरमा १ अर्ब ३२ कोड ३५ लाख १९ हजार ३५७ रुपैयाँको सेयर कारोबार भएको छ । आज सूचीकृत २८८ स्क्रिप्टका ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर ३७ हजार ३१ वटा सङ्ख्यामा खरिद बिक्री भएका छन् ।  ओरालो लागेको बजारमा म्युचुल फण्ड बाहेक सबै उपसूचक राताम्मे भएको छ । जलविद्युत १.७३, वित्त १.५९ र होटल तथा पर्यटनमुलक उपसमुहको सूचक १.५६ प्रतिशतले ओरालो लाग्दा बाँकी एक प्रतिशतभन्दा कमले घटेका छन् ।

मौद्रिक नीतिको समीक्षाको आशमा बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । सोही कारण पनि सेयर बजारमा बढ्न सकेको छैन । गर्भनर अधिकारीले आज मात्रै अर्थमन्त्री समक्ष राष्ट्र बैंकको गत आवको वार्षिक प्रतिवेदन पेश गर्दै मौद्रिक नीतिको समीक्षा तथा मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल गरेका छन् ।

सेयर बजार ओरालो लागेता पनि आज केही कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । बिहीबारको बजारबाट रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले ५.६३ प्रतिशतले बढेको छ । सर्वाधिक सेयरमूल्य वृद्धि भएको यस कम्पनीको प्रतिकित्ता ४० रुपैयाँ बढेर प्रतिकित्ता भाउ ७५० रुपैयाँ पुगेको छ । त्यस्तै, एनआइबिएल प्रगति फन्डको इकाइको मूल्य ३.८७ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ को इकाईमूल्य ३.५२ प्रतिशत, एनआइसी एशिया फ्क्लेसी क्याप फन्डको ३.४१ प्रतिशत र छिमेक लघुवित्तको सेयर मूल्य ३.४१ प्रतिशतले बढेको छ ।

सेयर बजार ओरालो लागेसँगै विजय लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर ५९१ रुपैयाँ३० पैसामा झरेको छ । यस्तै माउन्टेन इनर्जी नेपाल र युनाईटेड इदिमार्दी आरबि हाइड्रोपावर लिमिटेडको सेयरमूल्य पनि १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिटिजन म्युचुअल फन्ड २को इकाईमूल्य ८.८८ प्रतिशत र खानीखोला हाइड्रोपावरको ५.६७ प्रतिशतले सेयरको भाउ घटेको छ ।

यसदिन नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सबैभन्दा धेरै ११ करोड ६७ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्स एण्ड आयलको ८ करोड, युनाईटेड इर्दीमर्दीको ५ करोड १९ लाख, सोल्टी होटलको ४ करोड ३९ लाख र रिलायबल नेपाल लाइफको ३ करोड २६ लाखको सेयर कारोबार भयो ।

बिहीबार बजारमा कारोबार कित्ताका आधारमा ३ लाख ८९ हजार ४१ कित्ता सहित नेपाल इन्स्योरेन्सको संस्थापक सेयर अग्र स्थानमा रहेकाे छ । कारोबार सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४ हजार ९९९ वटा कारोबार भयो ।

बिहीबारको गिरावटपछि कुल बजार पुँजीकरण २७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँले घटेर २८ खर्ब ६५ अर्ब ५४ करोड ७२ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बुधबार २८ खर्ब ९३ अर्ब ४० करोड ४८ लाख रुपैयाँ थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार  १६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।