एलआईसी नेपालले तोक्यो विशेष साधारण सभाको बुकक्लोज

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले विशेष साधारण सभाका लागि बुकक्लोज मिति तोकेको छ ।

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले माघ ३ गते बिशेष साधारण सभा बोलाएको हो । एलआईसीले माघ ३ गते, मंगलबार, लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौँमा विशेष साधारणसभा बोलाएको छ । सो सभाका लागि इन्स्योरेन्स कम्पनीले पुस २५ गते सोमबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस २४ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले उक्त सभामा सहभागिता जनाउन सक्नेछन् ।

एलआईसी नेपालले विशेष साधारण सभाबाट चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दैछ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब कायम गर्न दिएको निर्देशन बमोजिम कम्पनीले हकप्रदबाट पुँजी पु¥याउन खोजेको हो ।

यद्यपी नियामक निकाय नेपाल बीमा प्राधिकरणले कम्पनीको हकप्रद स्वीकृत गर्छ कि के गर्छ भन्ने प्रश्न भने कायम नै छ । प्राधिकरणले मर्जर र बोनस सेयर वितरण गरेर पुँजी कायम गर्न निर्देशन दिएको छ । मर्जर र बोनस सेयरबाट अपुग भए २५ प्रतिशतसम्म हकप्रद जारी गर्ने सहुलियत दिने प्राधिकरणको योजना छ । कम्पनीले प्राधिकरणको तोकेकोभन्दा तीन गुणा बढी अर्थात सबै पुँजी हकप्रदबाट पु¥याउन खोजेको हो । यसमा प्राधिकरणका अध्यक्ष सिलवालको निर्णय निर्भर हुने देखिन्छ ।

विदेशी स्वामित्व देखाउँदै हकप्रद अनुमति दिने कि नदिने भन्ने निर्णय उनको रहेकाले आफ्नो भनाई र नीतिमा उनी कति अडिग रहन्छन् त्यसमा नै एलआईसीको हकप्रद निर्भर रहन्छ । कम्पनीले प्राधिकरण र पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएपछि मात्रै हकप्रद जारी गर्न पाउँछ ।

कम्पनीले यसअघि पुँजी वृद्धि सम्बन्धी प्रस्ताव बुझाउँदा नै हकप्रद सेयर जारी गर्ने भनेको थियो । हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । सो पुँजीको ८८।४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रदपछि कम्पनीको पुँजी ५ अर्ब पुग्नेछ ।

कम्पनीमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत सेयर स्वामित्व रहेकाले कम्पनीले हकप्रद वापत १ अर्ब २९ करोड ७ लाख ४० हजार रुपैयाँ लगानी थप्नेछ । नेपालमा भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) ले एलआईसी नेपालमा लगानी थप्न हकप्रद जारी गर्न गत असारमा नै सहमति दिईसकेको छ ।

यस्तै बिशाल ग्रुपले २५ प्रतिशत लगानीका हिसाबले हकप्रदमा ५८ करोड ६७ लाख रुपैयाँ र सर्वसाधारणको २० प्रतिशत लगानीबाट ४६ करोड ९३ लाख ६० हजार रुपैयाँ थप्नुपर्ने हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।