अण्डर इन्स्योरेन्सको समस्या अझै उस्तै

0
Shares

नेपालमा अण्डर इन्स्योरेन्सको समस्या अझै पनि उस्तै रहेको पाइएको छ । बीमा प्रति मानिसको बुझाइ परिवर्तन हुन नसक्दा अण्डर इन्स्योरेन्सको समस्या कायम रहेको प्राधिकरणको बुझाई छ ।

निर्जीवन बीमा कम्पनीहरुले बीमा गर्ने मध्ये सम्पति बीमामा अण्डर इन्स्योरेन्स बढी हुने गरेको नेपाल सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालले बताए । त्यसमा पनि बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गरी गरिने सम्पति बीमामा अण्डर इन्स्योरेन्सको विकराल अवस्था रहँदै आएको उनको भनाई छ ।

२०७२ सालको भुकम्प पछि अण्डर इन्स्यारेन्सको समस्या विकराल देखिएको हो । भुकम्पले क्षति भएका सम्पतिको दाबी गर्ने समयमा ९० प्रतिशतले अण्डर इन्स्योरेन्स गरेको आंकडा निस्किएको थियो । जसका कारण बीमितहरुले आफ्नो क्षति भएको सम्पत्तिको पूर्ण क्षतिपूर्ति पाउन सकेनन् ।

तत्कालीन समय नेपाल बीमा प्राधिकरणको पहलमा बीमकहरुले पूर्ण बीमालाई प्रोत्साहित गर्न थाले । क्षति भएको भन्दा कम भुक्तानी पाउने भएपछि बीमतीहरुले पनि पूर्ण बीमामा प्रेरित भए । तर, यस्तो अभ्यास धेरै समय चलेन । मानिसहरुले भुकम्पलाई विर्सन थालेपछि फेरि पनि अण्डर इन्स्योरेन्सको अवस्था उस्तै रहेको पाइएको छ ।

अण्डर इन्स्योरेन्स भनेको के हो ?

अण्डर इन्स्योरेन्स भनेको मानिसले आफ्नो सम्पतिको कम मूल्याङ्कन गरी गरिने बीमा हो । जस्तै, १ करोड रुपैयाँ पर्ने सम्पतिलाई ५० लाख रुपैयाँ हो भनि बीमा गर्नु हो ।

अण्डर इन्स्योरेन्स तत्कालको लागि बीमितलाई फाइदा भए पनि दीर्घकालीनमा रुपमा भने ठूलो जोमिख पूर्ण हुन्छ । सम्पति कम मूल्य राख्दा बीमितले कम बीमाशुल्क भुक्तानी गरी सम्पतिको बीमा गर्न सक्छ । तर, बीमा गरिएको सम्पति क्षतिग्रस्त भएमा बीमितले कम भुक्तानी पाउँछन् । यदि मानिसले १ करोडको सम्पतिलाई ५० लाख तोकेर बीमा गरेको छ भने कम्पनीले भुक्तानी गर्दा ५० लाखलाई शतप्रतिशतको आधार मान्छ ।

घर ५० प्रतिशत मात्रै क्षति भएको छ भने कम्पनीले भुक्तानी गर्दा ५० लाख रुपैयाँलाई आधार मानी त्यसको आधा अर्थात् ५० प्रतिशत मात्रै भुक्तानी गर्छ । यसले कम्पनी भन्दा पनि बीमितलाई घाटा पर्छ ।

किन हुन्छ अण्डर इन्स्योरेन्स ?

नेपालमा अण्डर इन्स्योरेन्सलाई कानुनले बन्देज गरेको छैन । कुनै पनि मानिसले आफ्नो सम्पतिको आफुले चाहे जति रकमको मात्रै पनि बीमा गर्न पाउने व्यवस्था छ ।

यदि कुनै व्यक्तिलाई आफ्नो सम्पति १ करोड रुपैयाँ बराबर भए पनि उसलाई ५० लाख रुपैयाँको जोखिम आफैँ बहन गर्न सक्छ र ५० लाखको जोखिमको लागि मात्रै बीमा गराउँछु भन्ने लाग्छ भने पनि सो अनुसार बीमा गर्न पाउने व्यवस्था रहेको प्राधिकरणको भनाई छ । तर, नेपालमा हुने अधिकांश अण्डर इन्स्योरेन्स भनेको बुझाईको कमीको कारणले हुने गरेको प्राधिकरणले जनाएको छ । मानिसले आफूले बहन गर्न नसक्ने जोखिमको मात्रै बीमा गर्दा अण्डर इन्स्योरेन्स हुन्छ भन्ने समेत थाहा नहुने गरेको संघका अध्यक्ष ढकालले बताए ।

नेपालमा अझै पनि बाध्यकारी अवस्थामा मात्रै बीमा गर्नै प्रचलन छ । अहिले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्दा बीमालाई अनिवार्य गरेका छन् । सोही कर्जा लिने प्रक्रिया पूरा गर्न मात्रै मानिसले बीमा गर्ने गरेको उनले बताए । तर, कर्जाको मात्रै बीमा गरेपछि भोलिको दिनमा सम्पति शतप्रतिशत क्षति भएमा कम्पनीले पूरै भुक्तानी नगर्ने व्यहोरो बीमितलाई थाहा नहुने गरेको उनले बताए । तसर्थ अण्डर इन्स्योरेन्स गर्दा हुने लाभ र हानिका विषयमा बुझाएर मात्रै बीमा गराउनुपर्ने उनको भनाई छ । बीमा कम्पनी, बैंक तथा प्राधिकरणले पनि यस विषयमा मानिसलाई सचेत गराउनु पर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।