वीर अस्पतालमा पनि फोनपे क्यूआरबाट भुक्तानी गर्न सकिने


नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । वीर अस्पतालमा फोनपे क्यूआर सेवा सुरु भएसँगै नगदरहित भुक्तानी गर्न सकिने भएको हो ।

बीर अस्पतालमा डाइनामिक क्युआर कोडको सिस्टम सुरू गरिएसँगै बीरामीले उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो । यो सेवाको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरे।

फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुबिधा उपलब्ध गराइएको हो । अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको हो ।

क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधाको उद्घाटन गर्नै अधिकृत बस्नेतले भने, “वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगदनै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुने जस्ता डरबाट मुक्ति मिलेको छ ।

हामीले हरेक दिन अस्पताललाई प्रविधिमैत्री बनाउँदै लगिरहने छौँ ।” यो सुविधासँगै अबदेखि टिकटका लागि पैसा तिर्न लामो लाइन बस्नुपर्ने झन्झटबाट मुिक्त मिल्नुका साथै कुनैपनि सेवाको क्यूआर मार्फत भुक्तानी गर्न सकिने छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् ।

एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।