आईपीओ अर्लटः शुभम् पावरको आईपीओ आज कार्यालय समयपछि बन्द हुँदै

0
Shares

शुभम् पावर लिमिटेडको आईपीओ आज पुस २० गते कार्यालय समयपछि निष्कासन बन्द हुँदैछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० देखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।

उक्त आईपीओ पुस ६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात ४ लाख कित्ता सेयर सर्वसाधारणमा छुट्टाएकोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेर अवितरित भएको १ लाख ८० हजार ५८० कित्ता थप भएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले संखुवासभा जिल्लामा पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण गरेको । कुल १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ लागत रहेको आयोजनाबाट २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन भैरहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि ९.०९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २९.८६ वर्ष छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।