चालु पुँजी कर्जामा राष्ट्र बैंक लचक भएपछि सेयर बजारमा ६५ अंकको उच्च बढोत्तरी

0
Shares

चालु पुँजी कर्जाको विषयमा नेपाल राष्ट्र बैंकले लचकता देखाएसँगै नेपाली सेयर बजारमा बुधबार ६५ अंकको बढोत्तरी भएको छ ।

पछिल्लो एक सातायताको बैंकर तथा व्यवसायीसँग घनिभुत छलफलपछि नेपाल राष्ट्र बैंकले अहिले ३ बजे पत्रकार सम्मेलन मार्फत उक्त चालु पुँजी कर्जा मार्गदर्शनको कार्यान्वयनका क्रममा अबलम्बन गर्ने लचकताबारे सार्वजनिक जानकारी दिँदैछ ।

बुधबार सेयर बजार ३.१५ प्रतिशत अर्थात ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यस अवधिमा २५८ कम्पनीका ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबारमा आएका ३० कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतभन्दा धेरै बढोत्तरी भएको छ । ५ कम्पनीको मात्र सेयरमूल्य घटेको छ ।

 

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५७ अङ्कले उकालो लागेर ४०८.७२ मा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहगत सुचकहरुमा बढोत्तरी भएको छ ।

नेप्सेका अनुसार आज विभिन्न ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप, पिपल्स पावर र खप्तड लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै कालिका पावर कम्पनी, आरएसडिसी लघुवित्त, बाराही हाइड्रोपावर, बिन्धबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त, सबैको लघुवित्त, निर्धन उत्थान लघुवित्त, सेन्ट्रल फाइनान्स, इस्ट्रन हाइड्रोपावर, समता घरेलु लघुवित्त, आरम्भ चौतारी लघुवित्त, बुद्धभुमी नेपाल हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, नयाँ साथी लघुवित्त, बलेफी हाइड्रोपावर, स्वरोजगार लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, इमर्जिङ्ग नेपाल लिमिटेड, महालक्ष्मी विकास बैंक र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको हो ।

उता नेपाल एसबिआई डिबेञ्चर २०८६ को मूल्य १.९९ प्रतिशत, सनराइज ब्लूचिप फन्डको इकाई १.७४ प्रतिशत, अजोड इन्स्योरेन्स १.७४, लक्ष्मी बैंक १.४४ प्रतिशत र धौलागिरी लघुवित्तको सेयरमूल्य १.२० प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ५२ लाख ७४ हजार ९२८ रूपैयाँ बराबरको कारोबार भयो । सानिमा माई हाइड्रोपावर कम्पनीको १० करोड ८७ लाख २९ हजार ५६६ रूपैयाँ, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १० करोड ४ लाख ३१ हजार ९०६ रूपैयाँ, नेपाल पुनरबीमा कम्पनी ९ करोड ७३ लाख ४८ हजार ८२० रूपैयाँ र हिमाल दोलखा हाइड्रोपावर ८ करोड ४० लाख ७८ हजार ३६० रूपैयाँ कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

बुधबारको बजार बन्दपछि समग्र बजार पुँजीकरण ३० खर्ब ७४ अर्ब ७४ करोड २७ लाख रुपैयाँमा समेटिएको छ । बुधबार मात्रै ९३ अर्ब २२ करोडले बजार पुँजीकरण बढेको हो । मंगलबार कुल बजार पुँजीकरण २९ खर्ब ८१ अर्ब ५ करोड रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।