कालिञ्चोकको आईपीओ नतिजा स्थानीय बासिन्दाले नबिल इन्भेष्टको वेवसाइट मार्फत हेर्नसक्ने

0
Shares

कालिञ्चोक दर्शनको बुधबार बाँडफाँड भएको आईपीओको नतिजा स्थानीय बासिन्दाले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको वेवसाइट मार्फत हेर्न सकिन्छ ।

कम्पनीले स्थानीय बासिन्दाका लागि सेयर जारी गर्दा कागजी रुपमा र बिक्री प्रबन्धकको वेवसाइट मार्फत अनलाइन माध्यमबाट भर्नसक्ने व्यवस्था गरेको थियो । सोही अनुसार नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दुबै तरिकाबाट नतिजा हेर्ने व्यवस्था मिलाएको हो ।  जसअनुसार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको वेवसाइटको शीर्ष स्थानमा रहेको सेयर अलटमेन्टभित्र गई त्यसको शीर्ष स्थानको मध्य भागमा रहेको ‘लोकल आईपीओ सेयर’ मा गएर नतिजा हेर्न सक्नेछन् ।

कागजी रुपमा सेयर भरेका स्थानीयले एप्लीकेसन आईडी नम्बर, आवेदकको नाम र आवेदकको बुबाको नाम राखेर हेर्न सक्नेछन् । यस्तै अनलाइन माध्यमबाट सेयर भरेका लगानीकर्ताले एप्लीकेसन आईडी नम्बर वा डिम्याट नम्बर, आवेदकको नाम र आवेदकको बुबाको नाम राखेर नतिजा हेर्न सक्ने नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई जारी गरिएको आईपीओ बुधबार बाँडफाँड भएको थियो । वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताहरुले हकमा कम्पनीको आईपीओ नतिजा लगानीकर्ता आफुले मेरो सेयर मार्फत भरेको माई आश्वामा रहेको एप्लिकेशन रिर्पोटमा गएर हेर्न सक्नेछन् । यस्तै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ नतिजा हेर्नका लागि नै विकास गरेको वेवसाइट मार्फत समेत वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताहरुले नतिजा हेर्न सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेकाले अधिकतम २० कित्तासम्म सेयर हात पारे

कालिञ्चोकले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले अधिकतम २० कित्तासम्म सेयर हात पारेका छन् ।  सेयर बाँडफाँडमा वैदेशिक रोजगारीमा रहेर आवेदन दिएका ४ हजार ५४१ जनालाई २० कित्ताका दरले ९० हजार ८२० कित्ता र १ हजार ७१८ जनालाई १० कित्ताका दरले १७ हजार १८० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सुरुमा रितपुर्वक परेको सबै ६ हजार २५९ जना आवेदकलाई समान १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको थियो ।

यसरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता सेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथामा सहभागि गराएर तीमध्ये ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

कम्पनीले वैदेशिक वैदेशिक रोजगारीमा रहेकालाई सर्वसाधारणमा जारी हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । नेपाली नेपाली श्रमिकहरुका लागि पहिला पटक सेयर जारी गरेको हो । सो सेयर मंसिर १४ गते देखि २८ गतेसम्म बिक्री खुला गरेको थियो ।

स्थानीयलाई १० कित्ता सेयर पनि गोलाप्रथाबाट

कालिञ्चोक दर्शनले स्थानीय बासिन्दाका लागि जारी गरेको साधारण सेयर १२ हजार स्थानीय बासिन्दाले हात पारेका छन् ।  धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा बुधबार भएको सेयर बाँडफाँडमा कुल आवेदकमध्ये ७८ प्रतिशतले गोलाप्रथाबाट सेयर पाएका हुन् । बाँकी २२ प्रतिशतले सेयर पाउन सकेनन् ।

स्थानीय बासिन्दाबाट कुल १५ हजार ४११ वटा आवेदन परेकोमा २३१ जनाको आवेदन रितपुर्वक नपरेकाले रद्द गरिएको नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । १५ हजार १८० वटा आवेदन सदर भएको थियो । आईपीओमा मागभन्दा ५.२८ गुणा बढी अर्थात ६ लाख ३४ हजार ६१ कित्ताको माग परेको थियो ।

कम्पनीले मंसिर १४ गते देखि २८ गतेसम्म स्थानीय बासिन्दालाई जारी पुँजी ६० करोडको २ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सेयर जारी गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।