बीमा प्राधिकरणले आफ्नै नीति विपरित दियो एलआईसीलाई भारी मात्रामा हकप्रदकाे सैद्धान्तिक स्वीकृति

0
Shares

नेपाल बीमा प्राधिकरणले आफ्नै नीति विपरित लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडलाई भारी मात्रामा हकप्रद सेयर निष्काशनको सैद्धान्तिक स्वीकृति दिएको छ ।

नेपाली बीमा कम्पनीहरुलाई मर्जर तथा बोनसको बाटो अंगाल्न बाध्य पारेको प्राधिकरणले विदेशी र स्वदेशी घराना बिशाल ग्रुपको लगानी रहेको कम्पनीलाई भने आफूले स्वीकृति दिने बताएकाे तीन गुणा बढी हकप्रद बिक्री गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले कम्पनीका कम्पनी सचिव सुदर्शन गिरीले पुस २१ गते बीमा प्राधिकरणले कम्पनीलाई ८८.४५१६ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति दिएको जानकारी दिए ।

बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले बोनस र मर्जरबाटै तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्‍याउनुपर्ने बताउँदै आएका थिए । उनले बोनस तथा मर्जर प्रकृयाबाट अपुग भए बढीमा २५ प्रतिशतसम्म मात्रै हकप्रद बेच्न अनुमति दिने बताउने गरेका थिए । तर तीनै अध्यक्षले विदेशी र स्वदेशी व्यवसायीक घरानाको लगानी रहेको कम्पनीलाई भारी मात्रामा हकप्रद जारी गर्न अनुमति दिएका हुन् । यसले प्राधिकरणले स्वदेशी र विदेशी कम्पनीप्रति गर्ने व्यवहारलाई समेत चित्रण गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यसअघिका थुपै कार्यक्रमहरुमा बीमा कम्पनीहरुका लागि दिइएको समयभित्रै चुक्ता पुँजी पुर्‍याउनुपर्ने र त्यसका लागि मर्जर र बोनसलाई प्राथमिकता दिने बताउँदै आएका थिए । उनका अनुसार मर्जर र बोनस लाभांशबाट पुँजी अपुग भएको खण्डमा मात्रै प्राधिकरणले बढीमा चुक्ता पुँजीको २५ प्रतिशतसम्म मात्र हकप्रदको स्वीकृति दिने पटक पटक सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए ।

प्राधिकरणले पुँजी वृद्धिका लागि एक आपसमा मर्जर तथा बोनसलाई प्राथमिकतामा राखेको छ । जसका लागि यसअघि नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीहरुलाई समेत नगदको सट्टा बोनस सेयर जारी गर्न निर्देशन दिएको अवस्था छ । यहि आधारमा नै मर्जर प्रकृयामा रहेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योन्सले घोषणा गरेको नगद लाभांशलाई हटाएर बोनसमा परिणत गरी लाभांश संसोधन गरेका छन् ।

प्राधिकरणले गरेको व्यवस्था अनुसार नै ९ जीवन बीमा कम्पनीले मर्जरमा जान सम्झौता गरेका थिए । जसमध्ये सुर्या लाइफ र ज्योति लाइफले पुस पहिलो सातादेखी नै एकीकृत कारोबार समेत सञ्चालन गरिसकेका छन् । बाँकी कम्पनीहरू पनि मर्जर सम्पन्न गर्ने बाटोमा रहेका छन् । जीवन बीमातर्फ गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर प्रकृयामा रहेका छन् ।

यस्तै निर्जीवन बीमातर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स तथा सानिमा जनरल र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । निर्जीवन बीमातर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स  र अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स पनि मर्जर प्रकृयामा रहेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आवको अन्त्यसम्म साढे २९ करोड रुपैयाँभन्दा बढी नोक्सानी व्यवस्थामा खर्च गर्दा कम्पनी पौने ९ करोड नोक्सानीमा छ । सोही कारण कम्पनी लाभांश वितरण गर्नसक्ने अवस्थामा छैन । साेही कारण कम्पनीले हकप्रदकाे बाटाेबाट ताेकिएकाे पुँजी कायम गर्न लागेकाे हाे  । हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले माघ ३ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको काठमाडौंको लिसारा रिसेप्सन नक्सालमा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५१६ प्रतिशत (१ कित्ता बराबर ०.८८४५१ कित्ता) का दरले हकप्रद सेयर निष्काशन गर्ने भएको हो । २ अर्ब ३३ करोड ४८ लाख १६ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्राधिकरणबाट हकप्रद निष्काशन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेसँगै अब विशेष साधारण सभाबाट हकप्रद निष्काशन प्रस्ताव पारित गर्नेछ । त्यसपछि कम्पनी स्वीकृतिका लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जानेछ । बोर्डबाट स्वीकृतिपछि मात्र कम्पनीले बुकक्लोज तोकेर हकप्रद निष्कासन गर्नेछ ।

नेपाल बीमा प्राधिकरणले आगामी चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ । यो समयसीमाभित्र सबै कम्पनीलाई पुँजी कायम गर्न प्राधिकरणले ताकेता समेत गर्दै आएको छ । नेपाल बीमा प्राधिकरणले आगामी चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ । यो समयसीमाभित्र सबै कम्पनीलाई पुँजी कायम गर्न प्राधिकरणले ताकेता समेत गर्दै आएको छ ।

एलआइसी नेपालमा सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत सहित नेपालको विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालको सञ्चालित जीवन बीमा कम्पनीमध्ये दोस्रो ठूलो पूँजीकृत जीवन बीमा कम्पनी हो एलआईसी । ग्लोबल इन्स्योरेन्स बेहेमथ, र लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाले नेपालको विशाल समूहसँग हात मिलाउँदा सन् २००० मा नेपालमा यस कम्पनीको स्थापना भएको थियो । कम्पनीले बीमा समितिबाट सन् २००१ अगस्ट ७ मा जीवन बीमा लाइसेन्स प्राप्त गरी सेप्टेम्बर १ देखि सञ्चालनमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।