मर्जरमा नजाने बीमा कम्पनीलाई प्राधिकरणले नै जोडी बाधीदिने

0
Shares

मर्जरमा जाने सहमती लिए पनि मर्जरमा नजाने बीमा कम्पनीहरुको नेपाल बीमा प्राधिकरणले आफैले जोडी बाधी दिने भएको छ ।

तोकिएको चुक्ता पुँजी कायम गर्ने समय नजिकिदै गर्दा स्वीकृति लिएका बीमा कम्पनीलाई मर्जरमा जान प्राधिकरणले दबाब दिन थालेको छ । तोकिएको समयमा मर्जरमा नजाने कम्पनीलाई प्राधिकरण आफैले मर्जर गराइदिने बताउँदै आएको छ ।

प्राधिकरणले वृद्धि गरेको चुक्ता पुँजी कायम गर्न १९ वटा बीमा कम्पनीले मर्जरको प्रस्ताव गरेका थिए । यि कम्पनीहरुले प्राधिकरणबाट मर्जरको लागि पहिलो चरणको स्वीकृति समेत पाइ सकेका छन् । जसमध्ये हालसम्म ६ वटा कम्पनी मात्रै मर्जरमा गएका छन् । बाँकी १३ वटा कम्पनीले मर्जरको स्वीकृति पाएर पनि हालसम्म मर्जरमा भने गएका छैनन । कतिपय कम्पनीले त मर्जरको प्रक्रिया समेत अगाडि नबढाएको प्राधिकरणको गुनासो छ ।

हालसम्म हिमालयन र एभरेष्ट्र इन्स्योरेन्स, सानिमा र जनरल, ज्योति र सूर्या लाइफ मर्जरमा गै एकीकृति कारोबार समेत शुरु गरी सकेको छ ।
तर, मर्जरमा जानका लागि प्राधिकरणबाट स्वीकृति लिई सकेका कम्पनीमध्ये प्राइम लाइफ इन्स्योरेन्स, गुराँश लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच विवाद देखिएको छ । कम्पनीले पुस १५ देखि एकीकृत कारोबार गर्ने गरी प्राधिकरणमा योजना बुझाए पनि हालसम्म प्रक्रिया भने अगाडि नबढाएको प्राधिकरणको गुनासो छ ।

रिलायन्स र सानिमा लाइफले पुसको अन्तिममा एकीकृत कारोबार गर्ने योजना प्राधिकरणमा पेश गरेका छन् । महालक्ष्मी लाइफ र प्रभु इन्योेरेन्ससले फागुन एक गते देखि एकीकृत कारोबार गर्ने गरी प्राधिकरणमा योजना बुझाएका छन ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले फागुन एक गते देखि एकीकृत कारोबार गर्ने योजना बुझाएका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि माघ, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले फागुन अन्तिम देखि एकीकृत कारोबार गर्ने भन्दै प्राधिकरणमा प्रस्ताव पेश गरेका छन् ।

तर, कम्पनीहरुले प्रस्ताव पेश गरेको मितिमा नै एकीकृत कारोबार गर्नेमा प्राधिकरण आफै भने शंसकित छ । तसर्थ तोकिएको समयमा आफै मर्जरमा नगएमा प्राधिकरण आफैले मर्जरको लागि निर्देशन दिने बताएको छ ।

प्राधिकरणका अनुसार नेपाल लाइफ, नेशनल लाइफ, एलआईसी नेपाल, शिखर इन्स्योरेन्सस र नेको इन्स्योेरेन्स आफैले चुक्ता पुँजी पुराउने भएका छन् ।

त्यस्तै, विदेशी शाखा कम्पनीको रुपमा रहेका ओरियण्टल, नेशनल इन्स्योरेन्स, मेट लाइफको हकमा भने प्राधिकरणले असाइन क्यापिटल निर्धारण गरेको छ। जस अनुसार कम्पनीहरुले प्राधिकणले तोकेको पुँजी कायम नगरेसम्म नाफा लैजान पाउने छैनन् ।

तर, हालसम्म युनाईटेड, एनएलजी, एशियन, सिटिजन्स, सन नेपाल, आइएमई, प्रुडेन्सियल, नेपाल इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धि गर्ने बिषयमा कुनै पनि प्रक्रिया अगाडि बढाएका छैनन् । यि कम्पनीहरुले मर्जरको लागि उचित पार्टनरको खोजी गरे पनि अहिलेसम्म टुंगो भने लागेको छैन । त्यस्तै, राष्ट्रिय बीमा संस्थान र बीमा कम्पनीको हकमा भने सरकारले नै पुँजी थप गर्ने प्राधिकरणको बुझाई छ ।

प्राधिकरणले जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । यस अघि भने जीवन बीमा कम्पनीको दुई अर्ब र निर्जीवन बीमा कम्पनीको एक अर्ब रुपैयाँ पूँजी तोकिएको थियो । प्राधिकरणले २०७९ सालको चैतसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।