सानिमा मिडिल तमोरले माघ ४ गतेदेखि ३८ करोडको आईपीओ निष्काशन गर्ने

0
Shares

सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि ३८ करोड ३२ लाख ३७ हजार ५०० रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका स्थानीय बासिन्दाका लागि ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ करोड ९९लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४ लाख ९९ हजार ८७५ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले स्थानीय बासिन्दालाई जारी पूँजी (३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ) को १० प्रतिशत सेयर निष्कासन गरेको हो । कुल निष्कासन हुने मध्ये ३३ लाख ३२ हजार ५०० कित्तासेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नम्बर १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नम्बर १ तथा भिक्वाखोला गाउँपालिका वडा नम्बर १ र २, मेरिङदेन गाउँपालिका वडा नम्बर २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ५ तथा मैवाखोला गाउँपालिका वडा नम्बर १ मा बसोबार गर्ने स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशतले हुन आउने १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशत बराबरको १९ लाख ९९ हजार ५०० कित्ता सेयर निष्काशन गर्नेछ ।

त्यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि ४ लाख ९९ हजार ८७५ कित्ता साधारण सेयर निष्काशन गर्नेछ । सर्वसाधारणमा निष्काशन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयरको १० प्रतिशत बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि खुला गरिएको हो ।

सेयरका लागि दुबै तर्फका लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ माघ १८ गते निष्काशन बन्द हुनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको हकमा भने उक्त मितिमा सबै सेयर बिक्री नभए ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन सकिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।