जग्गा भाडामा लिएर बाली लगाउनेलाई नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह

0
Shares

जग्गाधनी एक व्यक्ति र जग्गा भाडामा लिएर खेती गर्ने अर्को व्यक्ति भएको अवस्थामा कृषि बीमा दाबी जग्गाधनीले नभई कृषिबाली लगाउने व्यक्तिले नै पाउने व्यवस्था गर्न आग्रह गरिएको छ ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा पुस २४ गते आइतबार पर्साको बिन्दबासिनी गाउँपालिकामा आयोजित बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो आग्रह गरेका हुन् ।

सहभागीहरुले सरकारी निकायमा धानको बीऊ सूचीकृत नभएको सोना मनसुली धानको पनि बीमा गर्न पाउने व्यवस्था गर्न, कृषि प्राविधिकहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्न र कृषहरुलाई गाउँ–गाउँमा नै बीमा सम्बन्धी जानकारी दिने व्यवस्था गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले गाउँ–गाउँमा गएर सबैलाई बीमाका बारेमा जानकारी दिने दायित्व निर्वाचित जनप्रतिनिधिहरुको भएको उल्लेख गर्दै बीमा गरेपछि हानी नोक्सानी भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति प्राप्त हुने र त्यसबाट आर्थिक अभाव पूरा गर्न सहयोग पुग्ने भएकाले सबैलाई बीमा गर्न आग्रह गरेका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी कार्यक्रम तर्जूमा र बीमा सचेतनामूलक कार्यक्रम सञ्चालनमा गाउँपालिकालाई आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको बताइन् ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेले कार्यक्रम सञ्चालन र सहायक निर्देशक अनिश तिमिल्सिनाले स्वागत गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य तथा कर्मचारी, बीमा कम्पनीका शाखा कार्यालय र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, कृषक लगायत गरी करिब ८० जनाको सहभभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।