नेप्सेमा लगातार तेस्रो दिन पाँच अर्ब बढीको सेयर कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) लगातार तेस्रो कारोबार दिन सोमबार पाँच अर्ब धेरैको सेयर कारोबार भएको छ । गत बिहीबारदेखि लगातार तीन दिन नेप्सेमा उच्च कारोबार भएको हो । सूचकसँगै कारोबार रकम समेत तेजी आएसँगै लगानीकर्ताको मनोबल समेत बलियो हुँदै आएको छ । साढे दश महिनापछि गत बिहीबारदेखि ५ अर्ब माथिको कारोबार भएको थियो ।

गत बुधबारदेखि नेप्सेमा निरन्तर सुधार आइरहेको छ । बुधबार ६४.७८, बिहीबार १८.०९ आइतबार २०.६८ र सोमबार ४६.७६ अंकको बढोत्तरी भएको हो । सोमबारको संसदको पहिलो अधिवेशन सुरु भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसदमा विश्वासको मत पाउने आधार देखिएसँगै सेयर लगानीकर्ताको मनोबल बजारप्रति कायम नै रहेको हो ।

सोमबार नेप्से २.१८ प्रतिशत अर्थात ४६.७६ अंकले बढेर २२११.३८ अंकमा पुगेकोे छ भने कारोबार रकम भने अघिल्लो दिनको तुलनामा १५ करोड घटेको छ । यसदिन कुल ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार ५ अर्ब ४६ करोडको कारोबार भएको थियो ।

सोमबारको बजारमा कुल कारोबारमा आएका २५७ मध्ये २१२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने ९ को स्थिर रहृयो । जलविद्युत ४.९४ प्रतिशत, विकास बैंक ३.२२, फाइनान्स ३.२०, व्यापार ३.११ अंक बढे । यसैगरी निर्जीवन बीमा उपसमूहगत सूचक २.५५, बैंकिङ २.११, अन्य २.०८, म्युचुअल फन्ड १.८१, जीवन बीमा १.६५, माइक्रोफाइनान्स ०.१८ र उत्पादन तथा प्रशोधनमुलक ०.०९ प्रतिशतले बढेको छ । होटल तथा पर्यटनमुलक भने ०.१७ प्रतिशतले घटेको छ ।

यस दिन बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै राधी विद्युत कम्पनी ९.९९, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड ९.९८, पिपल्स हाइड्रोपावर ९.९७, हिमालयन पावर पार्टन ९.८४, पन्चकन्या माई हाइड्रोपावर ९.६२, आँखुखोला हाइड्रोपावर ९.५७, कुमारी धनवृद्धि योजना ९.४१ र घलेम्दी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.३४ प्रतिशतले बढेको छ ।

त्यसैगरी यस दिन स्वाभिमान लघुवित्त ३.५७ प्रतिशत, धौलागिरी लघुवित्त २.४४, नेपाल एसबिआई डिबेञ्चर २०८६ को १.९९, गुडबिल फाइनान्स २०८३ को १.९१ प्रतिशत र डिप्रोक्स लघुवित्तको सेयरमूल्य १.८० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २० करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । त्यसैगरीङादी ग्रुप पावरको १६ करोड ९७ लाख, एनआईसी एशिया बैंक १६ करोड ७८ लाख, शिवम सिमेन्ट्सको करिब १३ करोड १ लाख र नबिल बैंकको १२ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख रुपैयाँ कायम भएको छ । सोमबार मात्रै बजार पुँजीकरणमा ७१ अर्ब ७ करोड रुपैयाँले वृद्धि भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।