बैंकहरूले सेयर र सम्पती बेचेर नाफा धेरै कमाएका छन्ः एनआईएमबि बैंक अध्यक्ष पाँडे

0
Shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) का अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरूले सेयर र सम्पती बेचेर धेरै नाफा कमाउने गरेको बताएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैंकको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बैंक अध्यक्ष पाँडेले बैंकहरुको वास्तविक नाफा भने ११ प्रतिशतभन्दा कम रहेको बताए । उनले भने, “धैरै बैकको नाफा रियल छैन । बैंकहरूले सेयर र सम्पती बेचेर धेरै नाफा कमाउने गरेका छन् । अहिलेको अवस्थामा बैकहरूको नाफा ११ प्रतिशतभन्दा कम छ ।”

सञ्चार माध्यमहरुले पनि बैंकहरुको वास्तविक नाफा नकेलाएको बताउँदै उनले हाल बैंकहरूले गर्दै आएको सञ्चालन नाफा निकै कम रहेको बताए । बैंकको नाफा अंकमा भन्दा सेयरधनी कोषसँग तुलना गरेर हेर्नुपर्ने उनको तर्क छ ।

अध्यक्ष पाँडेले मेगा बैंक साना तथा माझौला (एसएमई) व्यवसायमा केन्द्रीत रहेको र नेपाल इन्भेष्टमेन्ट बैंक कर्पोरेट फोकस बैंक रहेकाले दुई बैंकको मर्जर सिनर्जीले बैकिङमा नयाँ आयाम आउने दाबी गरे ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्चेन्ट बैंकिङमा पहिलो हुने उनको भनाई छ । अध्यक्ष पाँडेले इन्भेष्टमेन्ट बैंकसँग ३६ वर्ष र मेगासँग १२ वर्षको अनुभव रहेको बताए ।

भारत, बंगलादेश लगायत विभिन्न देशको कुल ग्राहस्थ उत्पादन र बैंकहरुको संख्याको उदाहरण दिँदै उनले नेपालमा धेरै भएको बताए । नेपालको अर्थतन्त्रको आकारले धेरै बैंक धान्न नसक्ने र निकट भविस्यमा मर्जरको नयाँ लहर आउने उनले दाबी गरे । आफूले तत्कालीन गभर्नर चिरञ्जीवि नेपाल छँदा नै बैंकहरुको संख्या घटाउन सुझाव दिएको उनले बताए । अहिले बैंकहरुमा भैरहेको मर्जर पहिलो चरणको मर्जर रहेको भन्दै उनले दोस्रो चरणको मर्जरपछि वाणिज्य बैंकहरुको संख्या ८ वटामा झर्ने उनकाे भनाइ छ ।

कार्यक्रममा बैंकहरु ठूला बन्दै गर्दा ग्राहकहरुको निक्षेप थप सुरक्षित हुने उनको भनाई छ । सेयरधनीको ५७ अर्ब लगानी मासिदा मात्र निक्षेपकर्ता असुरक्षित हुने उनले बताए । ‘टु बिग टु फेल’ भन्ने मान्यता सबैतिर लागू नहुने तर्क छ ।

काठमाडौमा बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पांडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका थिए । दुई बैक १००ः९० सेयर स्वाप अनुपातमा मर्जर भएका हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।