संस्थापक निक्षेपको ब्याजदर बढाउन बीमा कम्पनीहरुको आग्रह

0
Shares

बीमा कम्पनीहरुले बैक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपमा दिने ब्याजदर बढाउन आग्रह गरेका छन् । व्यक्तिगत निक्षेपमा भन्दा बीमा कम्पनीको निक्षेपमा दिने ब्याजदर २ प्रतिशतले कम भएको गुनासो उनीहरुले गरेका छन् ।

बीमा कम्पनीहरुले पनि सर्वसाधारणको रकम परिचालन गर्ने भएकाले ब्याजदर समान गर्न आग्रह गरेका हुन् । नेपाल जीवन बीमा संघले नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई भेटेरै ब्याजदर वृद्धि गर्न सुझाव दिएका छन् । त्यस्तै, नेपाल बीमक संघले समेत सरकारसँग ब्याजदर बढाइ दिन आग्रह गरेको छ ।

बीमा कम्पनीहरुले बीमितबाट संकलन गरेको रकम विभिन्न क्षेत्रमा लगानी गर्छन् । यसरी गरेको लगानीबाट प्राप्त प्रतिफल नै लगानीकर्तालाई लाभांश तथा बीमितहरुलाई बोनश प्रदान गर्छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीले लगानी गरेको लगानीबाट प्राप्त प्रतिफल नै लगानीकर्तालाई लाभांश र कम्पनीमा परेको दाबी भुक्तानी गर्छन् ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानीका लागि निश्चित क्षेत्र तोकि दिएको छ । प्राधिकरणले विभिन्न ११ वटा क्षेत्र तोके पनि बीमा कम्पनीहरुले भने बैक तथा वित्तिय संस्थाको निक्षेपमा नै बढी लगानी गर्दै आएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीहरुले आफनो कुल लगानीको ७७ प्रतिशत रकम बैक तथा वित्तीय संस्थाको निक्षेपमा नै लगानी गर्दै आएका छन् । कम्पनीहरुले सो अवधिमा ३ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेपमा मात्रै लगानी गरेका छन् ।

कम्पनीहरुले बाणिज्य बैंकको निक्षेपमा मात्रै ६७ प्रतिशत रकम लगानी गरेका छन् । तथ्यांक अनुसार बाणिज्य बैकको निक्षेपमा कम्पनीहरुले तीन खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेका छन् । विकास बैंकको मुद्धती निक्षेपमा भने ४३ अर्ब १२ करोड लगानी गरेका छन् । यो रकम कुल लगानीको ८ प्रतिशत भन्दा बढी हो । त्यस्तै वित्त कम्पनीको निक्षेपमा ५ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानीको एक प्रतिशत हो ।

त्यस्तै चालु आवको पहिलो तीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले बैक तथा वित्तीय संस्थाको निक्षेपमा ४३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानी रकमको ८१ प्रतिशत हो ।

साथै कम्पनीहरुले विकास बैंकको निक्षेपमा ५ अर्ब ६४ करोड र वित्त कम्पनीको निक्षेपमा ९४ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम क्रमश १० र एक प्रतिशत हो ।

प्राधिकरणले लगानीका लागि सरकारी बण्ड देखि रियल स्टेट क्षेत्र समेत तोकेको छ । तर, कम्पनीहरु भने बैक तथा वित्तीय संस्थाको निक्षेपमा नै केन्द्रित भएका छन् । यसरी कम्पनीहरुको लगानी बैक तथा वित्तीय क्षेत्रमा नै थुप्रिदा भोलिका दिनमा बैकिगं क्षेत्रमा जोखिम आउदा बीमा क्षेत्रमा पनि धरासयी हुने विज्ञहरु बताउँछन् ।

तर, बीमा कम्पनीहरु भने बीमा कम्पनीमा कुनै पनि समयमा ठूलो दाबी पर्न सक्छ । भुकम्प र महामारी जस्ता प्राकृतिक विपतमा तत्काल रकमको आवश्यकता पर्छ । त्यसैले कुनै पनि समयमा रकम उपलब्ध हुने क्षेत्रमा लगानी गर्नु पर्ने बाध्यता रहेको बताउँदै आएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।