सीएनआई कोसी एक्स्पोमा सौर्यमण्डल हेर्न पाइने


नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ लाई अन्तर्राष्ट्रिय र ऐतिहाँसिक एक्स्पो बनाउने अभियान अन्तरगत सौर्यमण्डलको अनुभव गराउन ‘प्लानेटेरियम’ को निर्माण गरिने भएको छ । विभिन्न उमेर समुहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिइन् ।

आगामी माघ १९ देखि २८ गतेसम्म विराटनगर महानगरपालिका–२ शंकरपुरमा हुने एक्स्पोमा सौर्यमण्डलबारे आवश्यक जानकारी दिन र अवलोकनकर्ताहरुलाई त्यसको अनुभव गराउन ‘प्लानेटेरियम’ अर्थात सौर्यमण्डलको कक्ष निर्माण गरिने उनले बताइन् ।

विशेष किसिमको क्षेत्रभित्र उक्त सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । त्यसका लागि उमेर अनुसारका दर्शकको समुह बनाएर अवलोकन गराइने सह–संयोजक सारडाले जानकारी दिइन् । उनले अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट, त्यसको चक्रबारे सवै उमेर समुहका व्यक्तिहरुले जानकारी पाउनसक्ने बताइन् ।

‘विशेष किसिमको जोनभित्र ३६० डिग्रीमा सौर्यमण्डल देखाइन्छ, त्यसबाट विशेष गरी हाम्रा बालबच्चाहरुले अन्तरिक्ष विज्ञानका बारेमा बढिभन्दा बढि जानकारी पाउने छन्’ उनले भनिन्, ‘सौर्यमण्डलको अवलोकनले विज्ञानप्रति विद्यार्थीहरुको विश्वास बढ्ने र उनीहरुलाई त्यसतर्फको अध्ययनमा समेत सहयोग पुग्नेछ ।’

सानो उमेर समुहलाई १५ मिनेट र ठुलोलाई २५ मिनेटसम्मको समयमा सौर्यमण्डल अवलोकन गराइने छ । सीएनआईले विद्यालय र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी बौद्धिक विकासका लागि हिसान र प्याब्सनसँगको सहकार्यमा सौर्यमण्डलको अवलोकनलाई प्राथमिकताका साथ एक्स्पोमा समेटिएको जनाएको छ ।

प्लानेटेरियमको अवलोकन एकपटकमा ४० जनासम्मले अवलोकन गर्नसक्ने जनाइएको छ । दैनिक ८ पटकसम्म अवलोकनको समय निर्धारण गरिने र एक्स्पो अवधिभर पाँचसय बढिले सौर्यमण्डलबारे पर्याप्त जानकारीहरु पाउने विश्वास लिइएको एक्स्पो सह–संयोजक सारडाले बताइन् ।

सीएनआईले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको एक्स्पोलाई थप आकर्षित बनाउन आवश्यक तयारीलाई तिब्रता दिइरहेको जनाएको छ । एक्स्पोमा रहने करीव साढे तीन सय स्टलहरु मध्ये ८० प्रतिशत स्टलहरु बुकिङ भइसकेको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन र खरिद गर्न सकिने छ । एक्स्पोलाई भव्य बनाउन विराटनगर महानगरपालिकासहित मोरङ–सुनसरी औधोगिक क्षेत्र भित्र पर्ने दुहवी नगरपालिका, बुढीगंगा र कटहरी गाउ“पालिका मुख्य प्रवद्र्धकमा रुपमा रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । उनले मुलुक आर्थिक रुपमा विषम अवस्थामा रहेको बेलामा उद्योग व्यवसायमार्फत आर्थिक गतिविधिलाई चलायमान बनाइराख्न एक्स्पो महत्वपूर्ण अवसर हुने बताए ।

‘यस्तो विषय अवस्थामा हामीले उद्योग व्यवसायलाई चलायमान बनाउन एक्स्पोमार्फत ठुलो हिम्मत गरेका छौं’ उनले भने, ‘सीएनआई स्थापनाकै पहिलो बर्षमा हामीले यो कदम उठाएका छौं, एक्स्पोलाई ऐतिहासिक बनाउन कुनैपनि कसर बाँकी राख्ने छैनौं ।’

अध्यक्ष घिमिरेले प्रदेश १ को ऐतिहासिक, राजनीतिक र आर्थिक शहर विराटनगरमा हुने एक्सोलाई प्रदेश १ कै सर्वोच्च शिखर सगरमाथाबाट आर्थिक समृद्धिको सुरुवात गर्ने थलोको रुपमा आयोजना गरिने दाबी गरेका छन् ।

एक्स्पोमा प्रदर्शनी तथा विक्रीका लागि राखिने वस्तु तथा सेवाहरुको प्रकृति अनुसार अलग–अलग पेभिलियन रहने जनाइएको छ ।

औधोगिक उत्पादन, अटोमोबाइल, कृषि उत्पादन लगायतका हरेक वस्तुका लागि अलग पेभिलियन हुने एक्स्पोका संयोजक राजेन्द्र राठीले बताए । उनले उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बनाइराख्नका लागि एक्स्पो उपयुक्त थलो बन्ने विश्वास व्यक्त गरे । एक्स्पोका माध्यमबाट प्रदेश १ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका नया“ लगानीकर्ताहरु समेत आकर्षित हुने बताए ।

परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउनका लागि विराटनगर र काठमाडौंबाट तयारी गरिरहेको जनाइएको छ । त्यसका लागि अध्यक्ष घिमिरेसहितको टोलीले काठमाडौंमा एक्स्पोको प्रवद्र्धन र सरोकारवाला निकायहरूबीच छलफल सम्पन्न गरिसकेको छ ।

एक्स्पोमा नेपाल बाहेक भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट विशेष उत्पादनहरुको प्रदर्शनी र विक्रीका लागि स्टलहरु रहने छन् । साथै हरेक दिन नयाँ नयाँ कलाकारहरुको सांगीतिक र सांस्कृतिक प्रस्तुति हुने छन् ।

मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट नर्सिङ कलेज, चिकित्सक संघ, हिसान, प्याब्सन, नेपाल नर्सिङ एशोसिएशन, अटोमोबाइल्स एसोसिएशन, इन्स्योर परियोजना, स्वीस कन्ट्याक्ट, एनवीक्यूएस लगायतका संघसंस्था तथा निकायहरुले एक्स्पो सफल बनाउनका लागि सहकार्य गरेको एक्स्पो सचिवालयले जनाएको छ ।

एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ रहेको छ । त्यसैगरी म्याजिक फुटवेयर र केएल दुगड ग्रुपको प्रायोजन, सेन्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप, क्वालिटी ग्रुप, मोरङ अटो वर्कस् र रुस्लान सह–प्रयोजक बनेका छन् ।

एक्स्पोमा आरती स्टिल र जल पाइप्स एण्ड फिटिङ्सको सहयोग रहनेछ । नेपाल सरकार, प्रदेश १ सरकार, नेपाल पर्यटन बोर्ड, रङ्गेली नगरपालिका लगायतका निकायहरु एक्स्पोको पर्वद्धक रहेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।