सानिमा जिआइसी इन्स्योरेन्सको २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

0
Shares

सानिमा जिआइसी इन्स्योरेन्सको २ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

साबिक सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जरपश्चात एकीकृत रुपमा सानिमा जिआइसी इन्स्योरेन्सको नाममा कम्पनीको सेयर बिहीबार सूचीकृत भएको हो । एकीकृत कारोबारको तीन महीनामा सानिमा जिआईसी इन्स्योरेन्सको सेयर सूचीकृत भएको हो । मर्जर प्रक्रिया पूरा भई गत कात्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको थियो । 

मर्जर प्रयोजनका लागि दुबै कम्पनीको सेयर असार २९ गते बुधबार कारोबार भएदेखि रोक्का रहेको थियो । नयाँ कम्पनीको रुपमा सेयर सूचीकृत भई कारोबार फुकुवा भएकाले आइतबारदेखि नै उक्त सेयर कारोबार गर्न मिल्नेछ ।

सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता सेयर र साविक जनरल इन्स्योरेन्सको १करोड कित्ता शेयर दर्ता गरि समायोजित कुल २ करोड कित्ता सेयर सानिमा जिआइसी इन्स्योरेन्सको नाममा कायम हुनेगरी सूचीकृत भएको हो । दुई कम्पनी १ः१ को समान सेयर स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन् ।

नेप्सेले सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको नामबाट सेयर सूचीकरण गरी कम्पनीको सेयर कारोबार समेत खुला गरेको छ । नयाँ कम्पनीको रुपमा रहेको सानिमा जिआईसी इन्स्योरेन्सको साधारण सेयर स्टक सिम्बोल ‘एसजीआइसी’ र संस्थापक (प्रोमोटर) सेयरको सिम्बोल ‘एसजीआइसीपी’ कायम गरिएको छ । नेप्सेले पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता ३६७ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । यसअघि सानिमा जनरल इन्स्योरेन्सको सेयर असार २९ गते ३६५ रुपैयाँ र जनरल इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३७० रुपैयाँमा अन्तिम पटक खरिद बिक्री भएको थियो ।

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा पाँच वर्षअघि स्थापना भएका दुई कम्पनी नेपाल बीमा प्राधिकरणको पुँजीवृद्धि योजनासँगै मर्जर भएका हुन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।