६ महिनाको व्यापार घाटा ७ खर्ब नाघ्यो, आयात २० र निर्यात ३२% ले घट्यो

0
Shares

चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुससम्ममा मुलुकको कूल व्यापार घाटा ७ खर्ब रूपैयाँ नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार पुगेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १९.१५ प्रतिशतले कमी आएको हो ।

६ महिनाको अवधिमा देशको कूल व्यापार ८ खर्ब ७३ अर्ब ४७ करोड बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल ७ खर्ब ९२ अर्ब ६६ करोडको आयात हुँदा ८० अर्ब ८० करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको ६ महिनामा कूल व्यापार २१.८९ प्रतिशतले घटेको छ । गत आवमा कूल ११ खर्ब १८ अर्ब १९ करोड बराबरको व्यापार भएको थियो ।

गत आवमा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालु आवको ६ महिनामा २० प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।

यस्तै, गत आवको ६ महिनामा एक खर्ब १८ अर्ब ८५ करोड बराबरको माल वस्तु निर्यात भएकोमा चालु आवको ६ महिनामा ३२ प्रतिशतले ओरालो लागेर ८० अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।