बैंकहरुको खराब कर्जा बढ्दो, गत आवको तुलनामा औसत १.२३% बढ्यो

0
Shares

वाणिज्य बैंकहरुको खराब तथा निष्क्रिय कर्जा उल्लेख्य मात्रा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अघिल्लो आवको सोही अवधिको तुलनामा १.२३ प्रतिशत बिन्दुले खराब कर्जा बढेको हो ।

अघिल्लो आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुमा औसत १.०६ प्रतिशत मात्र रहेको खराब कर्जा चालु आवको सोही अवधिमा आइपुग्दा औसत २.२९ प्रतिशत पुगेको हो । खराब कर्जा बढेपनि इम्पेरिमेन्ट चार्ज बढ्दा अधिकांश बैंकको मुनाफा प्रभावित बनेको छ । सञ्चालनमा रहेका २२ मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बाहेक सबै २१ बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंक बाहेक सबै बैंकको खराब कर्जा अनुपात बढेको छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा हिमालयन बैंकको सर्वाधिक ३.०५ प्रतिशत बिन्दुले खराब कर्जा बढेको छ भने एभरेष्ट बैंकको कम ०.२९ प्रतिशत बिन्दुले बढेको तथ्याङ्क छ । समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको भने ०.२७ प्रतिशत बिन्दुले खराब कर्जा अनुपात घटेको छ ।

बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकको सर्वाधिक ४.५२ प्रतिशत खराब कर्जा अनुपात रहेको छ । खराब कर्जाको उच्च बाढेत्तरीका कारण कृषि विकास बैंक पुस मसान्तसम्म करिब १३ करोड रुपैयाँ नोक्सानीमा समेत रहेको छ ।

२०७९ पुस मसान्तको तथ्याङ्क अनुसार कृषि विकास बैंकपछि हिमालयन बैंकको ३.७७ प्रतिशत, सनराइज ३.३६, कुमारी ३.१५ र नेपाल बैंकको ३.११ प्रतिशत छ । सिटिजन्स, नबिल, ग्लोबल आइएमई, सिद्धार्थ, प्राइम, राष्ट्रिय वाणिज्य, सिभिल र एनएमबि बैंकको दुई देखखखि तीन प्रतिशतको बीचमा खराब कर्जा अनुपात रहेको छ । प्रभु बैंक, लक्ष्मी र माछापुच्छ्रे बैंकको एक प्रतिशतभन्दा धेरै छ ।

यस अवधिमा सानिमा बैंक, स्ट्याण्डर्ड चार्टड, एनआईसी एशिया, एभरेष्ट र नेपाल एसबिआई बैंकको एक प्रतिशतभन्दा कम खराब कर्जा अनुपात रहेको छ । सबैभन्दा कम रहेको नेपाल एसबिआई बैंकमा कुल कर्जाको ०.४७ प्रतिशत खराब कर्जा देखिएको छ ।

S.N. Commercial Banks Non-performing Loan (NPL)
2079 Poush 2078 Poush Change%
1 Himalayan Bank Limited 3.77 0.72 3.05
2 Siddhartha Bank Limited 2.87 0.37 2.50
3 Agriculture Development Bank  4.52 2.08 2.44
4 Kumari Bank Limited 3.15 1.06 2.09
5 Prime Commercial Bank Ltd. 2.81 0.78 2.03
6 Sunrise Bank Limited 3.36 1.41 1.95
7 Nabil Bank Limited 2.98 1.11 1.87
8 Global IME Bank Limited 2.92 1.13 1.79
9 Civil Bank Ltd 2.41 0.94 1.47
10 Nepal Bank Limited 3.11 1.91 1.20
11 Citizen Bank International Limited 2.99 1.87 1.12
12 Machhapuchhre Bank Limited 1.41 0.57 0.84
13 NMB Bank Limited 2.24 1.49 0.75
14 Prabhu Bank Limited 1.98 1.23 0.75
15 Laxmi Bank Limited 1.56 0.83 0.73
16 Sanima Bank Limited 0.77 0.31 0.46
17 Nepal SBI Bank Limited 0.47 0.14 0.33
18 Everest Bank Limited 0.55 0.26 0.29
19 Standard Chartered Bank Limited 0.72 0.44 0.28
20 NIC Asia Bank Ltd. 0.61 0.47 0.14
21 Rastriya Banajya Bank 2.79 3.06 -0.27
  Average 2.29 1.06 1.23

वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.७९ प्रतिशत रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा ३.०६ प्रतिशत रहेको बैंकको खराब कर्जा समीक्षा अवधिमा ०.२७ प्रतिशतले घटेको हो ।

बैंकले निश्चित समयका लागि कुनै ऋणीलाई दिएको कर्जाको साँवा तथा ब्याज समयमा नै भुक्तानी हुन नसके त्यस्तो कर्जा खराब कर्जाको सूचीमा पर्ने गर्दछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनसम्म पनि बैंकले ऋण उठाउन नसकेमा सो ऋणलाई खराब कर्जाभित्र राखिन्छ । ऋण असुली नभएको समय अनुसार ऋणहरुको वर्गिाकरण गरी राष्ट्र बैंकले सोही अनुसार बैंकहरुलाई पाँचदेखि शतप्रतिशतसम्म जोखिम व्यवस्थापन गर्न लगाउने गरेको छ ।

साथै बैंकहरुको यस्तो खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेमा बैंकको अवस्था जोखिमयुक्त समेत मानिन्छ । खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेमा नेपाल राष्ट्र बैंकले सम्बन्धीत बैंक तथा वित्तीय संस्थाहरुलाई हर्जना समेत लगाउने गरेको छ ।

बैंकहरुले प्रवाह गरेका विभिन्न प्रकारका ऋणहरु ऋणीले समयमा नै भुक्तानी नगर्दा सबैंजसो बैंकको खराब कर्जादर बढ्न पुगेको तथ्याङ्कले देखाएको छ । चालु आवको ६ महिना अवधिमा बैंकहरुको कर्जा सामान्य प्रतिशतले मात्रै बढेको भएपनि पुरानो ऋण नउठ्दा खराब कर्जा अनुपात भने बढेको हो । राष्ट्र बैंकले कोभिड कालखण्डमा दिएको पुनरकर्जा समेत पुस मसान्तभित्र फिर्ता लगेकाले पनि खराब कर्जामा बढोत्तरी भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।