लघुवित्त क्षेत्रमा देखिएन सुधार, एक महिनामा २१ हजार ‘डिफल्टर’ थपिए

0
Shares

माइक्रो फाइनान्स क्षेत्रमा देखिएको वढ्दो ‘डिफल्ट’ को समस्या झनै जटिल बन्दै गरेको छ । कोरानालाई कारण देखाउँदै अझै पनि लघुवित्त ऋणीले कर्जा नतिर्ने र लघुवित्तका ऋणदाताको दबाबले सो क्षेत्रको समस्या समाधान भन्दा पनि जटिलतर्फ मोडिएको हो ।

कोरोनाका कारण देखाउँदै लघुवित्तका ऋणीले कर्जा भूक्तानी गर्न मानेन । ऋणीले कर्जा तिर्न भन्दा आन्दोलन गर्ने विकल्प रोजेकाले पनि समस्या बढ्दो क्रममा देखिएको हो । त्यस्तो अभ्यासले माइक्रोफाइनान्सका क्षेत्रमा कर्जा डिफल्टर कम हुनुपर्नेमा झनै बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । त्यतीमा नभई हरेक महिना अर्ब भन्दा धेरै कर्जा नोक्सानी व्यवस्था बढेको समेत केन्द्रीय बैंकले जनाएको छ ।

कोरोना महामारी संगै रुस युक्रेन युद्धले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ । विश्व अर्थतन्त्रमा देखिएको समस्याको असर नेपाली अर्थतन्त्रमा पनि देखियो। तर, अर्थतन्त्रका अधिकांस सुचक सकारात्मक देखिएको अवस्थामा पनि ग्रामीण अर्थतन्त्रको वित्तीय मध्यस्तता गरेको लघुवित्त क्षेत्रको समस्या घट्नु पर्ने झनै बढ्दै गएको अवस्था छ।

कात्तिक महिनामा सञ्चालनमा रहेका ६४ लघुवित्त वित्तीय संस्थाका कुल ऋणी मध्ये २२ प्रतिशत डिफल्ट भएको अवस्था थियो । राष्ट्र बैंकका अनुसार मंसिर महिनामा यस्तो दर समत बढेर २३.२३ प्रतिशत पुगेको छ । कात्तिक महिनामा माइक्रो फाइनान्सका कुल ऋणी ३३ लाख ४ हजार ७ सय ५ रहेको थियो । यसमा डिफल्टरको संख्या ७ लाख ४२ हजार ४ सय ६९ थियो । तर, मंसिर महिनामा भने ऋणीको संख्या घटेको छ भने डिफल्टरको संख्या बढेको छ।

मंसिर महिनामा कुल ऋणीको संख्या ३२ लाख ८७ हजार ६ सय २५ छ । यो संख्या कात्तिकको तुलनामा १७ हजारले थोरै हो । गत कात्तिकमा कुल ऋणीको संख्या ३३ लाख ४ हजार ७ सय ५ थियो । मंसिर महिनामा थप भएका डिफल्ट ऋणीको संख्या २० हजार ९ सय ६६ रहेको छ । मंसिर अन्तिसम्ममा डिफल्ट ऋणीको संख्या ७ लाख ६३ हजार ४ सय ३५ पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार मंसिरसम्ममा माइक्रोफाइनान्सको कुल ब्याज आम्दानी २५ अर्ब ९६ करोड रुपैयाँ छ । यो आम्दानी कात्तिक महिनाको तुलनामा ब्याज आम्दानी ५ अर्बले धेरै हो । त्यसैगरी मंसिर महिनामा लघुवित्तले १५ अर्ब ७२ करोड ब्याज खर्च गरेका छन् । यो खर्च कात्तिक महिनाको तुलनामा मंसिरमा ३ अर्ब ४ करोड ९० लाख रुपैयाँले बढेको हो ।

मंसिर महिनामा मात्र माइक्रोफाइनान्सहरुले कर्जा नोक्सानी बापत एक अर्ब ८ करोड ३० लाख रुपैयाँ थप छुट्याएका छन । कात्तिक महिनासम्ममा १४ अर्ब ४ करोड कर्जा नोक्सानी व्यवस्थाका लागि रकम व्यवस्था गरेका माइक्रो फाइनान्सले मंसिर महिनामा १५ अर्ब १२ करोड ३० लाख रुपैयाँ उक्त शिर्षकमा छुट्याउनु परेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।