सनराइज फोकस्ड इक्वीटी फण्डले १० वर्षे अवधिमा हरेक वर्ष कति दिन्छ प्रतिफल ?


दोस्रो बजार प्राय स्थिर अवस्थामा रहेका बेला सार्वजनिक निष्काशन भएको सनराइज फोकस्ड इक्वीटी फण्डका इकाईमा २१ हजार ५० वटा आवेदन परेको छ । इकाई निष्काशन सुरु भएको ५ दिको अन्त्यसम्ममा उल्लेखित आवेदकहरुले १ करोड ४४ लाख ८० हजार इकाई माग गरेका हुन् ।

सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्कासन गरिरहेको सनराइज फोकस्ड इक्विटी फण्डको कोष प्रवद्र्धक सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ । प्रतिइकाई १० रुपैयाँको दरमा १० वर्षे अवधिको बन्दमूखि योजनाको १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ करोड इकाई माघ १० गतेदेखि निष्काशन भईरहेका छन् । जसमा सर्वसाधारणले ५ दिनमा १ करोड ४४ लाख ८० हजार इकाईका लागि आवेदन दिएका हुन् ।

संस्थागत लगानीकर्ताहरुले इकाई निष्काशनको म्याद सकिने मिति नजिकिँदै जाँदा राम्रो आकारमा फण्डमा लगानी गर्ने प्रतिबद्धता जनाएको क्यापिटलले जनाएको छ ।

माघ २४ गतेसम्म निष्काशन हुने फण्डका इकाईमा आस्वा सदस्य बैंक वित्तीय संस्थाका साथै मेरोसेयरबाट आवेदन दिन सकिन्छ । कम्तीमा ६ करोड बराबरका ६० करोड रुपैयाँको इकाई बिक्री हुनु पर्ने योजनाको आकार बढीमा १ अर्ब ५० करोड रुपैयाँसम्म जान सक्ने व्यवस्था छ ।

कुल १ अर्ब २० करोडको आकारमा सञ्चालनमा आउने उक्त फन्डमा १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंक र योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन गरिएको हो । योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८५ देखि १०० प्रतिशतसम्म शेयरका लगानी गर्नेछ ।

सनराइज फोकस्ड इक्विटी फण्डले सुचिकृत कम्पनीको बजार पुँजीकरणका आधारमा विभिन्न उच्च बजार पुँजीकरण भएका, मध्यम बजार पुँजीकरण भएका र कम बजार पुँजीकरण भएका मध्येबाट उच्च प्रतिफल प्रदान गर्न सक्ने तथा भविष्यमा व्यवसायिक आकारमा उच्च वृद्धि हासिल गर्न सक्ने ३० कम्पनीलाई केन्द्रमा राखेर लगानी गर्नेछ । त्यस्ता कम्पनीको पोर्टफोलियोलाई पहिलो शीर्ष १० कम्पनीहरु र थप शीर्ष २० कम्पनीमा वर्गीकरण गरि प्रगतिशिल व्यवस्थापन गर्दछ ।

पुँजी बजारमा आउने गतिशिलताको वृहत अध्ययन, अनुसन्धान तथा विश्लेषण गरि सुचिकृत कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषण पश्चात धितोपत्रहरुमा लगानी गरि इकाईधनिहरुलाई नियमित प्रतिफल प्रदान गर्दे सम्पत्ति अधिकिकरण योजनाले जोड दिनेछ ।

यसरी सिर्जित लगानीको पोर्टफोलियो बजारमा आउने सामान्य उतार चढावले असर नगर्ने तथा तुलनात्मक रुपमा सुरक्षित हुन्छ । लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनाको प्रमुख उद्देश्य छ ।

कम्पनीका शेयर तथा अधिकतम प्रतिफल प्राप्त हुने अन्य धितोपत्रहरुमा लगानी गरि लामो समयसम्म इकाईधनिहरुलाई नियमित प्रतिफल दिई इकाईको खुद सम्पत्तिमा उच्च वृद्धि कायम राख्नु योजनाको उद्धेश्य हो । योजना व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताहरुको निम्ती उपयुक्त छ । यो योजना दिर्घकालका लागि लगानी गर्न र उच्च प्रतिफलको अपेक्षा राख्ने लगानीकर्ताहरुको निम्ती उपयुक्त हुनेछ ।

योजनाले वित्तिय प्रक्षेपणको क्रममा संकलन हुने रकमलाई इक्विटि, स्थिर आय उपकरण तथा कल बैंक खातामा क्रमशः ८५, १० तथा ५ प्रतिशत लगानी गर्नेछ । वार्षिक पूँजीगत नाफाको गणना योजनाले धितोपत्र बजारमा गर्न सक्ने सम्भावित ३० कम्पनीहरुको ७ वर्षको ‘कम्पाउण्डिङ एन्नुअल ग्रोथ रेट’ गणना गर्नेछ ।

यसका साथै स्थिर आय उपकरणको प्रतिफल ९ प्रतिशत र चालु खाताको २ प्रतिशतको व्याजदरको वेटेड एभरेज रिटर्न रेटलाई आधार मानी वार्षिक पूँजीगत लाभ ३२.७१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

योजनाका सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन खर्चहरु कट्टा गरि औषत वार्षिक प्रतिफल २९.६६ प्रतिशत निर्धारण गरिएको सनराइज क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।