रिलायन्स फाइनान्स करिब ४ करोड रुपैयाँ नोक्सानीमा

0
Shares

रिलायन्स फाइनान्स लिमिटेडले ३ करोड ८४ लाख ९६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । नोक्सानीमा पुगेसँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसाले ऋणात्मक बनेको छ । गत आवको सोही अवधिमा ५ रुपैयाँ ४१ पैसा थियो ।

अघिल्लो आवको सोही अवधिमा २ करोड ४७ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले खराब कर्जा वापत ५ करोड व्यवस्था गरेपछि उच्च नोक्सानीमा पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीलाई ३ करोड ८४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

गत वर्ष यही अवधिसम्म १२ करोड रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ६५ लाख रुपैयाँमा झरेको छ । दोस्रो त्रैमासमा कम्पनीले ६ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २० करोड १० लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात ३.१९ बाट बढेर ४.८९ प्रतिशत पुग्दा ४ करोड ९९ लाख ५२ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ । गत आवको सोही अवधिमा २ करोड १९ लाख थियो ।

कम्पनीको प्रति सेयर नेटवर्थ १२१ रुपैयाँ १७ पैसा, आधारदर १३.५० प्रतिशत, स्प्रेडदर ४.८५ प्रतिशत, कस्ट अफ फन्ड १०.६३ प्रतिशत र मूल्य आम्दानी अनुपात ४६.८३ गुणा ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।