गहुँको आयात खोल्न भारतसँग सरकारले पहल गर्ने, अघोषित लोडसेडिङले उद्योग प्रभावित


सरकारले गहुँको आयात खुलाउन भारतसँग छलफल सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीसँगको भेटका क्रममा भारतसँग गहुँ आयात खुलाउन छलफल भएको जाननकारी दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले यसबारे भारतसंग छलफल भैसकेको र तत्काल आयात खुल्ने बताए । भेटका क्रममा महासंघको टोलीले भारतले गहुं आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा जोड दिएका थिए ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीचको भेटमा अध्यक्ष गोल्छाले अस्थीर ब्याजदरका कारण विशेष गरि साना व्यवसायी अत्यन्त प्रताडित हुनुु परेको बताएका थिए ।

इन्धनको मुल्य समायोजन हुन नसक्दा लागत बढ्न गइ मुद्रास्फितिमा समेत चाप परेको उनको भनाई थियो । उद्योगहरुमा अघोषित लोडसेडिंगका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा गोल्छाले जोड दिएका थिए ।

कोभिड यता लगानी हुन नसकेका कारण आगामी केहि बर्ष अर्थतन्त्रमा समस्या कायम रहनेतर्फ पनि महासंघ अध्यक्ष गोल्छाले मत्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत सो अवसरमा महासंघले आग्रह गरेको थियो । मन्त्री भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने जानकारी गराएका थिए ।

नेपालबाट भारत निर्यात गर्दा जारि हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघले मन्त्री भण्डारीलाई सुझाव दिएको थियो ।

मन्त्रालयसंगको साझेदारी अनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसंग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानुु पर्ने धारणा सो अवसरमा व्यक्त गरिएको थियो । साथै साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसंगको सहकार्यका लागि आग्रह गरिएको थियो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावलाई आफूले अगाडी बढाउने र महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएका थिए ।

मन्त्री भण्डारीले वन्द हडताल एवं लोडसेडिंगका कारण उत्पादन वन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन दिँदै बजेटको मध्यावधि समिक्षा मार्फत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गर्ने जानकारी दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।