मोटर बीमामा निर्भर निर्जीवन बीमा व्यवसाय, लघु र कृषि तथा बालीबीमाको अवस्था नाजुक

0
Shares

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस महिनासम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा व्यवसाय मोटर बीमाकै भरमा चलेको देखिन्छ ।

सरकारले विशेष जोड दिँदै आएको लघुबीमा तथा कृषिबाली बीमाको अवस्था अन्य बीमाको तुलनामा कमजोर देखिएको छ । प्राधिकरणको विवरण अनुसार कम्पनीहरुले गरेको कुल निर्जीवन बीमा व्यवसायका करिब ३३ प्रतिशत हिस्सा मोटर बीमा व्यवसायको छ । कम्पनीहरुले गरेको अन्य निर्जीवन बीमा व्यवसाय भन्दा मोटर बीमा व्यवसायको हिस्सा सबैभन्दा बढी छ ।

निर्जीवन बीमा कम्पनीहरुले पुसमसान्तसम्म २० अर्ब ८ करोड २५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेकोमा जसमा ६ अर्ब ५५ करोड १७ लाख मोटर बीमाको हिस्सा रहेको छ । जुन कुल व्यवसायको ३२.६२ प्रतिशत हो । यस अवधिमा कुल १३ लाख ९५ हजार ३२ बीमालेख जारी भएकोमा मोटर बीमाको मात्रै ८ लाख ८४ हजार १२१ बीमालेख जारी भएका छन् ।

सरकारले मोटर बीमालाई अनिवार्य गरेकाले पनि मोटर बीमाको हिस्सा बढी देखिएको हो । तत्कालीन बीमा समितिले मोटर बीमाको तेस्रो पक्षलाई अनिवार्य गरेको हो । मोटर खरिद गर्दा र मोटर नवीकरण गर्दा अनिवार्य रुपमा मोटर बीमा गर्नुपर्ने प्रावधान छ ।

सरकारले सबैभन्दा धेरै अनुदान दिएको बीमा क्षेत्र कृषि तथा बाली बीमाको बजार हिस्सा भने ५.४४ प्रतिशत मात्रै छ । राज्यले बीमा शुल्कमा अनुदान दिँदा पनि बीमा कम्पनीहरुले यस बापत गत पुस महिनासम्म १ अर्ब ९ करोड २७ लाख रूपैयाँको मात्र बीमा गरेका छन् । यसअवधिसम्म कम्पनीहरुले ८२ हजार ७४६ वटा बीमालेख जारी गरेका छन् ।

पछिल्लो समयमा सरकारले लघुबीमालाई जोड दिँदै आएपनि यसको बजार खासै फस्टाउन सकेको छैन् । पुसमसान्तसम्म लघु बीमाको बजार हिस्सा जम्मा ०.१८ प्रतिशत छ । यसअवधिमा बीमा कम्पनीहरुले १७ हजार ९०६ वटा लघुबीमा लेख जारी गरी ३ करोड ६६ लाख ९६ हजार मात्र बीमाशुल्क संकलन गरेका छन् । लघुबीमाको अवस्था मधेश प्रदेशमा सबैभन्दा नाजुक देखिएको छ ।

मोटर बीमापछि कम्पनीहरुले गरेको व्यवसायको अधिक हिस्सा सम्पति बीमाको छ । समीक्षा अवधिमा कम्पनीहरुले ४ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ बराबरको सम्पति बीमा गरेका छन् । सम्पति बीमालाई पनि सरकारले अनिवार्य गरेको छ ।

यस अवधिमा कम्पनीहरुले २ लाख ४५ हजार ५५३ वटा सम्पत्ति बीमालेख जारी गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घर खरिद गर्दा अनिवार्य रुपमा कर्जाको बीमा हुनुपर्ने वित्तीय संस्थाको प्रावधान छ ।

फलस्वरुप कम्पनीहरुले गरेको व्यवसायमध्ये सम्पति बीमाको हिस्सा अधिक देखिएको हो । सम्पत्ति बीमाको हिस्सा २२.२५ प्रतिशत छ ।

त्यस्तै, कम्पनीहरुले ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको इन्जिनियरिङ्ग बीमा व्यवसाय गरेका छन् । यो व्यवसायको हिस्सा कुल व्यवसायको १८ प्रतिशत छ । पछिल्लो समयमा प्राधिकरणले इन्जिनियरिङ्ग बीमालाई पनि अनिवार्य गरेको छ । कुनै पनि परियोजना सुरु गर्नुअघि ठेकेदार कम्पनीले अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान छ ।

त्यस्तै, कम्पनीहरुले १ अर्ब ५ करोड ९६ लाख रुपैयाँ बराबरको सामुन्द्रिक बीमा गरेका छन् भने ९९ करोड ४ लाख रुपैयाँ बराबरको हवाई बीमा गरेका छन् । त्यस्तै, दुई करोड ६३ लाख रुपैयाँ बराबरको लघुबीमा गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पुसमसान्तसम्म १३ लाख ९५ हजार ३२ बीमालेख जारी गरेर कुल २० अर्ब ८ करोड २५ लाख बीमाशुल्क संकलन गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।