अस्ताए औपचारिक अर्थतन्त्रमा भारुको प्रयोग विस्थापित गर्ने पहिलो गभर्नर राणा

0
Shares

आजको अर्थतन्त्रको सुरुवातकर्ताको रुपमा पहिचान बनाएका नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शम्शेर राणाको निधन भएको छ । अर्थसचिव समेत भएर महालेखाका नियन्त्रकको स्थापना देखि राष्ट्र बैंकको पहिलो गभर्नर समेत रहेका राणाको आइतबार ९५ वर्षको उमेरमा निधन भएको हो ।

उनले २००७ सालमा अर्थ सचिव हुँदै गर्दा राजस्व प्रणालीमा सुधार, अन्तशुल्क विभाग तथा महालेखा नियन्त्रकको कार्यालय गठन गरेका थिए । त्यतीमात्र नभइ उनले विदेशी मुद्रा सञ्चिति तथा विदेशी मुद्रा विनिमयको आधार पनि स्थापना गरेका थिए ।

अर्थसचिव हुँदा उनले पारदर्शी र व्यवस्थीत अर्थतन्त्रको सुरुवात गरेका थिए । त्यसपछि उनी नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर भए । गभर्नर भएर नेपाल राष्ट्र बैंकको संरचानात्मक विकास मात्र गरेनन आजको वित्तीय प्रणालीको समेत सुरुवातकर्ताको श्रेय समेत उनैलाई जान्छ ।

पहिलो गभर्नर राणाले तय गरेको एक सय भारु बरावर १६० रुपैयाँ नेरु अझै पनि कायम छ । भारतसंगको सोही स्थिर विनिमय दरका आधारमा आज पनि अन्य मुद्रासंग पेगिङ भइरहेको छ । यसको अर्थ भारतीय मु्रदामा आएको उतारचढाब अनुसार नै अन्य मुद्रा खरिद बिक्री हुन्छ । खुला सिमाना भएका कारणले पनि उनले तोकेको भारु संगको स्थिर विनिमय दर हालसम्म पनि कायम छ । बेलाबेलामा उक्त स्थिर विनिमय दरलाई परिवर्तन गर्नुपर्ने विषयले भने चर्चा पाउने गरेको छ । उनी आफैले पनि यसलाई समय अनुसार परिवर्तन गर्न समेत सुझाउने गरेका थिए ।

२०१३ बैशाख १४ गते नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर बनेका राणाका लागि तराइ क्षेत्रमा बढ्दो भारुको प्रचलनलाई विस्थापित गरेर नेरुको प्रयोग स्थापित गर्नु थियो । तत्कालिन राजा महेन्द्र विर बिक्रम शाहले भारुको सट्टा नेरु प्रयोग र सहज विनियमको व्यवस्था गर्नका लागि राष्ट्र बैंकको स्थापना गरेका थिए । सोही अनुसार राजाले हिमालयन शम्शेर राणालाई राष्ट्र बैंक स्थापना गरेर पहिलो गभर्नरमा नियुक्त गरेका थिए । पछि राजा महन्द्रले नै उनलाई ४ वर्ष ८ महिनापछि २०१७ माघ गते पदच्यूत गरेका थिए ।

गभर्नर राणाले आफ्नो कार्यकालमा २३ जना कर्मचारीलाई साथमा लिएर वित्तीय प्रणालीको जग हाल्न निस्केका थिए । उनले गभर्नर रहदाँ तत्कालिन सरदार हंसमान सिंहको सहकार्यमा काम गरेका थिए । राष्ट्र बैंक ऐन २०११ अनुसार नेपालको केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकको स्थापना भयो । यो नेपालको वित्तीय प्रणालीका लागि निकै महत्वपुर्ण कदम थियो ।

गभर्नरमा नियुक्त भएलगत्तै राणाले अर्थतन्त्रले सामना गरिरहेका समस्याहरु उपर काम गर्न सुरु गरिहाले । तत्कालिन समयमा सबैभन्दा चुनौतिपुर्ण समस्या भनेको नेपाली नोटको प्रयोग बढाउनु थियो । नेपालको कानुनी मुद्रा भनेको नेपाली रुपैयाँ मात्र हो भन्दै उनले मुद्रा व्यवस्थापन ऐन नै तयार गरेर लागु गरे । उनले उक्त ऐन पहिलो चरणमा काठमाडौं उपत्यका, पुर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा कार्यान्वयन गरेका थिए । यस क्षेत्रका नेपालीका लागि नेपाली मुद्रामा मात्र कारोबार गर्न पाइने व्यवस्था गरियो । त्यसपछि राष्ट्र बैंकले प्रजातन्त्र दिवसमा एक, पाँच, दश, सय दरका नेपाली नोट जारी ग्रयो । उक्त समयमा केन्द्रीय बैंकले एक करोड ५२ लाख रुपैयाँ बरावरको नोट छापेको थियो । यसरी नेपाली अर्थतन्त्रमा ठुलो मात्रामा प्रचलनमा रहेको भारतीय मुद्रालाइ विस्थापित गर्ने काम गभर्नर राणाको पहलमा भएको थियो ।

यसका लागि राष्ट्र बैंकले दुइवटा विशेष कदम चालेको थियो । केन्द्रीय बैंकले सञ्चालन गरेको गहन र विस्तृत अध्ययनका आधारमा २०१६ चैत २१ गते देखि भारुसंगको विनिमय दर स्थिर बनाउने निर्णय गर्यो । दोस्रोमा विदेशी विनिमय नियन्त्रण ऐन २०१६ समेत तयार गरी लागु गरियो । यो ऐनले विदेशी विनिमयको नियन्त्रण केन्द्रीय बैंकको मातहतमा ल्यायो । यो ऐनलाइ पनि गभर्नर राणाले चरणबद्ध रुपमा लागु गरेका थिए । त्यसका साथै सरकारी राजस्व भारुमा संकलन गर्न समेत निषेध गरियो । राष्ट्र बैंक र नेपाल बैंकमा राख्ने गरिएको भारु निक्षेपलाई समेत नेरुमा परिवर्तन गरियो ।

त्यसका साथै गभर्नर राणाले देशका विभिन्न ठाउमा विदेशी विनिमय काउन्टहरुको पनि स्थापन गरे । ती काउन्टरले सर्वसाधारणको भारुलाइ नेरुमा परिवर्तन गर्न मद्दत गरे । गभर्नर राणाले सर्वसाधारणमा विश्वासको बातावरण बनाएर दोहोरो मुद्राको प्रयोगलाइ हटाई नेपाली मुद्राको प्रयोग विस्तार गरेका थिए । यसका लागि उनले केन्द्रीय बैंकलाई तराइ क्षेत्रका धेरै जिल्लामा कुनै न कुनै रुपमा उपस्थित गराएका थिए । सोही समयमा केन्द्रीय बैंकको उपस्थिती, व्यवस्था अनि सांगठानीक संरचनामा समेत उनले धेरै नै मेहेनेत गरेका थिए । तराइ तथा पहाडी क्षेत्रमा गरी राष्ट्र बैंक २०१६ सालसम्ममा १८ स्थानमा पुगेको थियो । राष्ट्र बैंकबाट बाहिरीएपछि राणा संयुक्तराष्ट्र संघसंग जोडिएका थिए । दुइ वटा किताब समेत प्रकासनको तयारीमा रहेका राणाले विदेशी लगानी भित्राउने प्रक्रियामा समेत महत्वपूर्ण कोषेढुङगा छोडेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।