माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ प्रतिशतको हात खाली

0
Shares

माया खोला हाइड्रोपावरकोे आईपीओ आज माघ २६ गते बिहीबार बिहान बाँडफाँड भएको छ । कम्पनीको सेयरमा आवेदन दिएका एक सय जनामध्ये १४ जनाले सेयर पाएका छन् भने ८६ जनाको हात खाली भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा १ लाख ९९ हजार २०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओ खरिदका लागि कुल १४ लाख ३५ हजार ३१३ वटा आवेदन परेको थियो । यस आधारमा १२ लाख ३६ हजार ११३ जनाको हात खाली भएको छ । 

कुल आवेदकमध्ये रितपुर्वक नपरेका १ लाख ५६ हजार हजार ६२५ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । १२ लाख ७८ हजार ६८८ वटा आवेदनलाई सदर गरी बाँडफाँडमा सहभागि गराइएको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । निष्काशित कित्ताले सबैलाई १० कित्ता बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट सेयर पाउने आवेदन छनौट गरिएको थियो ।

कम्पनीले सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएर माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणबाट १९ लाख ९२ हजार कित्ताका लागि आवेदन माग गरेको थियो । सर्वसाधारणमा जारी सेयरबाट १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो ।

यस्तै सर्वसाधारणमा कुल २४ लाख कित्ता छुट्टाइएकोमा सो सेयरमध्ये १० प्रतिशतले हुन आउने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी पुँजीको १० प्रतिशतका दरले १० लाख कित्ता सेयर यसअघि नै बाँडफाँड भैसकेको छ ।

कम्पनीले कुल ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियाे ।

इक्रा नेपालले निष्काशनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

कहाँबाट हेर्ने नतिजा ?

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लगानीकर्ताले माया खोला हाइड्रोपावरकोे आईपीऋो बाँडफाँडको नतिजा विभिन्न चार स्थानबाट हेर्न सक्छन् ।

सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, मेरो सेयरको एप्लीकेसन रिपोर्ट र आईपीओ निष्काशक कम्पनी माया खेला हाइड्रोपावरकोे वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।